काठमाडाैं – डा. गोविन्द केसीले मेडिकल शिक्षाको सिट संख्या र शुल्क यथावत राख्न सरकारसँग आग्रह गरेका छन्। उनले सरकारले सिट बढाउने निर्णय गरे विवाद पैदा हुने भन्दै सत्याग्रह सहितको आन्दोलनको चेतावनी पनि दिएका छन्।
डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि, “मेडिकल शिक्षाको सिट संख्या र शुल्क नबढाउन बारम्बार आग्रह गर्दा पनि सरकार र चिकित्सा शिक्षा आयोगले सुनुवाइ नगरेको खबरले गम्भीर ध्यानाकर्षण भएको छ। हामी एक सिट पनि नबढाउन र शुल्क नबढाउन ओली सरकार र आयोगलाई पुनः सचेत गराउँछौं। अन्यथा सत्याग्रहसहित आन्दोलन गर्न बाध्य हुनेछौं।”

उनले प्रतिष्ठान तथा विश्वविद्यालयका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी ऐन र एकीकृत प्रतिष्ठान ऐन तुरुन्त पारित गर्न, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्न तथा सरकारी स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्न माग समेत राखेका छन्।
साथै, २०८५ सालदेखि मेडिकल शिक्षा गैरनाफामूलक बनाउन सम्बन्धित कानुनी प्रावधान अगाडि बढाउन समेत डा. केसीले आग्रह गरेका छन्।








