काठमाडौं- आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी छलफलमा अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच विशेष बैठक सम्पन्न भएको छ।

छलफलका क्रममा स्वास्थ्य मन्त्रालयले संघीय अस्पतालहरूमा विशिष्टीकृत सेवा तथा सेवा विस्तारका लागि २ हजार १ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको हो। प्रस्तावमा डाक्टर, नर्ससहितका दक्ष जनशक्तिहरू समावेश छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा सेवा विस्तार गर्न र स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले थप जनशक्ति अपरिहार्य भएको बताए।

त्यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य सेवा छिटो, गुणस्तरीय र प्रभावकारी बनाउन दक्ष जनशक्ति आवश्यक रहेको उल्लेख गर्दै प्रस्तावमाथि थप परामर्श गरेर अगाडि बढ्ने धारणा राखे।
बैठकमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, बालबालिकालाई दिइने निःशुल्क औषधी, भक्तपुरको दुवाकोटमा निर्माण हुने वीर अस्पतालको विस्तृत परियोजना प्रतिवेदन, जलन उपचारलगायतका विविध विषयमा पनि छलफल भएको थियो।







