

काठमाडौं- नेपाल औषधि उत्पादक संघ (एपोन) को आगामी कार्यकालका लागि विप्लव अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। संघको ३१औं वार्षिक साधारणसभा सम्पन्न भएसँगै अध्यक्षसहित पदाधिकारी र कार्यसमिति सदस्यहरू चयन भएका हुन्।
सुरूमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा देखिए पनि अन्तिम समयमा पूर्वअध्यक्ष दीपक प्रसाद दाहालसँग सहमति जुटेपछि अधिकारीलाई निर्विरोध बनाइएको हो। अधिकारी यसअघि महासचिवको भूमिका निर्वाह गरिसकेका अनुभवी नेतृत्व हुन्।
संघको नयाँ संरचना अनुसार कार्यसमिति १३ सदस्यीय रहेको छ। विधान संशोधनसँगै सात पदाधिकारी र छ सदस्य रहने प्रावधानअनुसार यो कार्यसमिति गठन गरिएको हो।
नयाँ कार्यसमितिमा महेश प्रसाद प्रधान निवर्तमान अध्यक्षको रूपमा रहनेछन्। वरिष्ठ उपाध्यक्षमा प्रभात रुगङटा चयन भएका छन् भने उपाध्यक्षमा पृथ्वी राज भण्डारी (निजु) निर्वाचित भएका छन्। महासचिवको जिम्मेवारी सन्तोष बरालले पाएका छन् भने सचिवमा गिरिराज पाठक (गणेश) र कोषाध्यक्षमा सुमित चन्द्र श्रेष्ठ चयन भएका छन्।
सदस्यहरूमा शैलेस बैध, पन्कज तिवारी, ईश्वर भण्डारी, शरदचन्द्र ओझा, सजल राज रेग्मी र प्रवन दाहाल चयन भएका छन्।



