स्याङ्जा- कुष्ठरोग निवारणको घोषणा गरिएको १५ वर्ष पुगिसक्दा पनि स्याङ्जा जिल्लामा अझै नयाँ बिरामी फेला परेका छन्। आर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा आठ जना नयाँ कुष्ठरोगका बिरामी भेटिएका हुन्।
पुतलीबजार र चापाकोट नगरपालिकामा दुई–दुई जना तथा वालिङ नगरपालिकामा तीन जना नयाँ कुष्ठरोग संक्रमित फेला परेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।
यसअघि २०८०/०८१ मा पनि यिनै तीन नगरपालिकामा गरी कुल छ जना कुष्ठरोगका बिरामी भेटिएका थिए। हाल जिल्लामा जम्मा नौ जना बिरामीले कुष्ठरोगको औषधि सेवन गरिरहेका छन्।
प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रशासक केशव चापागाईंका अनुसार कुष्ठरोग अन्य रोगजस्तो सजिलै नचिनिने भएकाले अझै पनि समाजमा लुकेर बसेका संक्रमित हुन सक्ने अनुमान गरिएको छ। “११ वटा पालिकामध्ये आठ पालिकामा अहिले कुष्ठरोगका बिरामी छैनन्,” चापागाईंले बताए।

उनका अनुसार यो रोग छालामा छोएर थाहा नपाउने, आँखीभौं सुनिने, कानको लोती बाक्लो हुने, स्नायु सुनिने र शरीर झमझमाउने जस्ता लक्षणहरू देखिन्छन्।
रोगको प्रकृति अनुसार बिरामीले कम्तीमा ६ महिना देखि एक वर्षसम्म निरन्तर औषधि सेवन गरेमा पूर्ण रूपमा निको हुन सक्ने चापागाईंको भनाइ छ। साथै, यो औषधि निःशुल्क रूपमा सबै स्वास्थ्य संस्थामा उपलब्ध रहेको उनले बताए।
नेपाल सरकारले सन् २०३० सम्म कुष्ठरोगको पूर्ण उन्मूलन गर्ने लक्ष्य लिएको भए पनि स्थानीयस्तरमा अझै नयाँ संक्रमित भेटिनु चुनौतीका रूपमा देखा परेको छ।








