बैतडी- सिगास गाउँपालिका–४, कान्धारस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रकी अनमी जानकी पुजाराको निरन्तर ६ घन्टा कृत्रिम श्वास दिएको प्रयासले नवजात शिशुको ज्यान जोगाएको समाचारले सबैको मन जितेको छ। उक्त घटनापछि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अनमी पुजारालाई फोन गरी उनको साहस र समर्पणको प्रशंसा गरेका छन्।
गत बिहीबार साँझ सुत्केरी बेथाले च्यापिएपछि स्थानीय महिलालाई स्वास्थ्य सेवा केन्द्र पुर्याइएको थियो। २० वर्षीया लक्ष्मी धामीले राति साढे ९ बजे शिशु जन्माइन्। तर शिशुको अवस्था सामान्य थिएन, श्वास निकै सुस्त चलेको थियो र शिशुले तात्कालिन उपचार आवश्यक थियो।
कान्धार स्वास्थ्य सेवा केन्द्रमा उपयुक्त स्रोतसाधन नहुँदा जानकीले आफैंले लगातार ६ घन्टा मुखबाट अक्सिजन दिँदै शिशुको ज्यान जोगाइन्। उनले भनिन्, “२० मिनेट प्रयासपछि शिशुको छाती फुलेको महसुस गरेँ, र बिहान साढे ३ बजे शिशु रोयो र हातखुट्टा चलायो।”
घटनाको खबर समाचारमा प्रकाशित भएपछि देशभरि उनको प्रशंसा भयो। त्यसपछि बुधबार अपराह्न ५ बजेतिर मन्त्री पौडेलले अनमी पुजारालाई फोन गरेर उनकाे कामको तारिफ गर्दै भने, “बच्चाको ज्यान बचाएर तपाईंले उदाहरणीय काम गर्नुभएको छ। यो देशलाई तपाईंजस्ता स्वास्थ्यकर्मीको खाँचो छ।”

पुजाराले मन्त्रीबाट यस्तो प्रशंसा पाउँदा आफू निकै खुसी भएको र कामप्रति अझै जिम्मेवार हुने मनसाय भएको बताइन्। “आफ्नो कामप्रति अडिग छु। सबैले जिम्मेवारी महसुस गर्नुपर्छ,” उनले भनिन्।
स्वास्थ्य मन्त्री पौडेलले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “सुख र सुविधा नभनी देशको स्वास्थ्य रक्षामा तल्लीन जानकी र अरू धेरै स्वास्थ्यकर्मीहरूप्रति मेरो हृदयदेखि सम्मान छ। सरकारले विकट र दुर्गम क्षेत्रमा काम गरिरहेका स्वास्थ्यकर्मीको योगदानलाई उच्च प्राथमिकता दिन्छ।”
अहिले शिशुको अवस्था सामान्य रहेको र आमा लक्ष्मी धामी पनि निको भएर डिस्चार्ज भइसकेको छ। यस्ता स्वास्थ्यकर्मीका कारण विकट स्थानमा समेत जीवन रक्षा सम्भव भएको भन्दै सबैले उदाहरणीय योगदानको कदर गर्नुपर्ने देखिन्छ।








