
काठमाडौं – विद्यालय जाने सबै कक्षाका बालबालिकालाई पोषणयुक्त दिवा खाजा उपलब्ध गराउनुपर्ने माग गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित ‘दिवा खाजा कार्यक्रमका लागि राष्ट्रिय परामर्श कार्यशाला’मा सहभागी विशेषज्ञ, सरोकारवाला संस्था तथा सरकारी अधिकारीहरूले यस्तो माग गरेका हुन्।
कार्यशालामा वक्ताहरूले अहिले कक्षा ५ सम्मका सरकारी विद्यालयका विद्यार्थीलाई मात्र दिइँदै आएको दिवा खाजा कार्यक्रमलाई सबै कक्षाका बालबालिकामा विस्तार गर्नुपर्नेमा जोड दिए। उनीहरूका अनुसार विद्यालय जाने हरेक बालबालिकालाई शारीरिक र मानसिक विकासका लागि पोषणयुक्त खाजा अनिवार्य छ।
हाल सरकार कक्षा ५ सम्मका विद्यार्थीलाई प्रतिविद्यार्थी १५ रुपैयाँ दरले खाजा खर्च दिँदै आएकोमा चालु आर्थिक वर्षदेखि उक्त रकम बढाएर २० रुपैयाँ पुर्याइएको छ। तर, यो रकम पोषणयुक्त खाजाका लागि पर्याप्त नभएको कार्यशालाका सहभागीहरूको भनाइ थियो।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै दिवा खाजा कार्यक्रमका लागि १० अर्ब १९ करोड रुपैयाँ विनियोजन गरिएको घोषणा गरेका थिए। यद्यपि फ्रान्सको पेरिसमा सम्पन्न ‘वृद्धिका लागि पोषण’ सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेकी सुनिश्चितता रम्तेलले केही विद्यालयमा बजेट अपुग भएको कारण ‘पत्रु खाजा’ दिनुपरेको अवस्था रहेको जानकारी दिइन्।
रम्तेलका अनुसार धेरै बालबालिकाले विद्यालय नजिकका पसलबाट म्याद गुज्रिएका तयारी खाजा किन्न थालेका छन्। त्यसैले यस्ता अखाद्य वस्तु बेच्ने व्यापारीमाथि निगरानी बढाउन र अभिभावकहरूलाई सचेत गराउनुपर्ने उनको सुझाव छ। साथै उनले स्थानीय रूपमा उत्पादित खाद्यवस्तुलाई विद्यालय खाजामा समावेश गर्नुपर्नेमा जोड दिइन्।
कार्यशालाका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका सदस्य तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी बिच्छले पोषणका कार्यक्रम संविधानअनुसार प्रेरित भएर सञ्चालन गर्नुपर्ने बताए। उनले दातृ निकायले छुट्टाछुट्टै तरिकाले काम गर्दा समन्वयको अभाव रहेकोप्रति चिन्ता व्यक्त गर्दै पेटभरिको खाना मात्र पर्याप्त नहुने, सन्तुलित पोषणयुक्त खाना आवश्यक हुने बताए।
उनले दिवा खाजा कार्यक्रम शारीरिक र मानसिक विकासका लागि अनिवार्य भएको तर्क राख्दै आधुनिकताको नाममा नेपालमा घट्दै गएको पूर्ण स्तनपानको अभ्यासप्रति पनि चिन्ता व्यक्त गरे। डा. बिच्छले ६ महिनासम्मको पूर्ण स्तनपानले बच्चाको शरीरमा १६३ प्रकारका एन्टीबडी निर्माण हुने बताए र आमा मात्र नभई बुबा तथा परिवारका सदस्यहरूले पनि आमाको पोषणमा ध्यान दिनुपर्ने धारणा राखे।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चन्द्रकान्त भूसालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनहरूले विद्यालय खाजा कार्यक्रमले विद्यार्थीको भर्ना दर, कक्षामा उपस्थिति, कक्षा पूरा गर्ने दर र सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव देखाएको जानकारी दिए।
त्यस्तै, राष्ट्रिय योजना आयोगको सामाजिक विकास महाशाखाका कार्यक्रम निर्देशक शिवरञ्जन पौड्यालले पेरिस सम्मेलनमा प्रस्तुत गरिएका तथ्यांकहरूलाई उद्धृत गर्दै बालबालिकाको समग्र विकासका लागि पोषणमा लगानी अत्यावश्यक रहेको बताए।
कार्यशालाको आयोजक संस्था ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)की कार्यकारी बोर्ड सदस्य पिंकी सिंह राणाले कार्यक्रमले बालबालिकाको पोषणस्तर वृद्धि गर्न, मस्तिष्क विकास र सिकाइ सुधारमा भूमिका खेलेको बताइन्।
उनका अनुसार अभिभावकले आफ्ना सन्तानलाई दिने खाजाको खर्च बचत गर्न सकेका छन्। जसले उनीहरूको सामाजिक सुरक्षामा समेत योगदान पुर्याएको छ। खाजा कार्यक्रमले विद्यार्थीको विद्यालयमा उपस्थित दर वृद्धि गर्न र शिक्षामा उत्साह थप्न सहयोग गरेको उनको भनाइ थियो।
कार्यक्रममा बोल्दै वल्ड भिजन इन्टरनेशनलका प्रतिनिधि श्याम अधिकारीले विद्यालय व्यवस्थापन समिति र स्थानीय तहका जनप्रतिनिधिहरूले अग्रसरता लिएर सबै सरोकारवालालाई एकजुट गराउनुपर्ने बताए। उनले ‘कलिला मुनाहरू’को समुचित विकासका लागि खाजा कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।
‘दिवा खाजा कार्यक्रमका लागि राष्ट्रिय परामर्श कार्यशाला’ ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक), वल्ड भिजन इन्टरनेशनल, इनफ तथा सामुदायिक सूचना नेटवर्क (सिआइएन) को संयुक्त आयोजनामा सम्पन्न भएको हो।


