काठमाडौं – वीर अस्पतालले बिरामी कुरुवाका लागि कुरुवा घर निर्माण गर्ने भएको छ। अस्पतालको १३६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक प्रा.डा. दिलिप शर्माले राजधानीमा उपचारका लागि आउने देशभरका बिरामीका कुरुवालाई समस्या परिरहेको भन्दै सो समस्याको समाधानका लागि कुरुवा घर निर्माण गर्न लागिएको जानकारी दिए।
उनले भने, “७७ वटै जिल्लाका बिरामीको उपचार हुने यो अस्पतालमा कुरुवा बस्ने कुनै प्रबन्ध छैन। त्यसैले हामी अब कुरुवाका लागि सुरक्षित आवासको प्रबन्ध गर्न लागिरहेका छौं।”

कार्यक्रममा शर्माले अस्पतालको भौतिक संरचना तथा सेवामा समेत सुधारको योजना सार्वजनिक गरे। उनका अनुसार ओपिडी बिल्डिङबाट नयाँ सर्जिकल ब्लकसम्म पुग्न बिरामीलाई असहज भएकाले त्यहाँ आकाशे पुल निर्माण गर्ने तयारी भइरहेको छ। साथै, ओपिडी काउन्टर थप गर्दै प्रतिक्षालय स्तरोन्नति गर्न क्यानोपी निर्माणको योजना समेत अघि बढाइएको छ।

शर्माले अस्पतालको विद्यमान सर्भर जीर्ण भइसकेकाले नयाँ एकीकृत डाटा सेन्टर स्थापनाको आवश्यकता औंल्याए र त्यसका लागि सरकारले आवश्यक बजेट व्यवस्थापन गरिदिनुपर्ने बताए। साथै, वीर अस्पतालको विस्तार योजनाअन्तर्गत रहेको दुवाकोट परियोजना तत्काल अघि बढाइनुपर्ने मागसमेत उनले गरे।
कार्यक्रममा प्रमुख अतिथि रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा अझै पनि धेरै सुधारको खाँचो रहेको बताए। उनले भने, “स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुग्नुपर्छ भन्ने लालसा सरकारले पूरा गर्नैपर्छ। तर हामीले अझै पूर्णरूपमा स्वास्थ्य संस्थाको विकास गर्न सकेका छैनौं।”
स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले राज्य त्यसबाट पन्छिन नमिल्ने बताउँदै उनले योजनाबद्धरूपमा स्वास्थ्य संस्थाको विकासमा लगानी बढाउनुपर्नेमा जोड दिए। आवश्यक स्वास्थ्य जनशक्ति मन्त्रालयबाट उपलब्ध गराउने सरकारको प्रतिबद्धता रहेको पनि मन्त्री पौडेलले बताए।








