पोखरा- गण्डकी प्रदेशमा पछिल्लो समय डेङ्गी सङ्क्रमणको जोखिम बढ्दै गएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार, गत पुस महिनादेखि हालसम्म प्रदेशभर ६०९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। वर्षायाम सुरु भएसँगै रोगको दरमा उल्लेखनीय वृद्धि भएको मन्त्रालयले जनाएको छ।
जेठमा १६९ जनामा डेङ्गी देखिएकोमा असारको अन्त्यसम्म आइपुग्दा थप १८५ जनामा संक्रमण पुष्टि भएको हो। जिल्लागत विवरण हेर्दा सबैभन्दा बढी कास्कीमा ३०७ जना, तनहुँमा १०१, लमजुङमा ७७, गोरखामा ४६, स्याङ्जामा २८, बागलुङमा १९, पर्वतमा १७, म्याग्दीमा १० र नवलपुरमा ४ जनामा संक्रमण देखिएको छ।

हालसम्म मुस्ताङ र मनाङमा भने डेङ्गी संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ। कास्कीमा संक्रमित ३०७ जनामध्ये मात्रै पोखरा महानगरपालिकामा १०३ जना रहेका छन्, जुन प्रदेशका कुल संक्रमितको करिब आधा हो।
साउनदेखि कात्तिकसम्म उच्च जोखिम
साउनदेखि कात्तिक महिनासम्म डेङ्गीको संक्रमण उच्च दरमा फैलिने जोखिम हुने भएकाले आगामी दिनमा अझ सतर्क रहनुपर्ने बताइएको छ। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले डेङ्गी न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि मन्त्रालय मातहतका सम्पूर्ण निकायलाई तयारी अवस्थामा राखिएको जानकारी दिए।

“गत वर्ष प्रदेश राजधानी पोखरा डेङ्गीको हटस्पट बनेको अनुभव भएकाले यसपटक संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाइएको छ,” मन्त्री पाठकले भने।
लामखुट्टे खोज्ने अभियान, तर चुनौती कायमै
पोखरा महानगरसहित प्रदेशका विभिन्न स्थानीय तहहरूले समुदायस्तरमा लामखुट्टेको बासस्थान खोज्ने तथा नष्ट गर्ने अभियान थालेका छन्। सचेतना र अभिमुखीकरण कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्।
गत वर्ष पोखरा महानगरमा मात्रै ८,६०० भन्दा बढीमा डेङ्गी संक्रमण भएको थियो। तीमध्ये तीन जनाको ज्यान गएको थियो। भदौको पहिलो सातादेखि असोजको पहिलो हप्ता सम्मको अवधिमा पोखरामा संक्रमणको दर छ गुणाले बढेको थियो।
यद्यपि, स्वास्थ्यकर्मीहरूले लामखुट्टे नष्ट गर्ने अभियान भए पनि डेङ्गी रोकथाम अझै चुनौतीपूर्ण रहेको बताएका छन्। उनीहरूका अनुसार, जबसम्म प्रत्येक व्यक्ति, परिवार र समुदाय स्वयं सचेत हुँदैनन्, तबसम्म रोग नियन्त्रण गर्न गाह्रो हुन्छ।







