काठमाडाैं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी स्वास्थ्य संस्था र अस्पतालहरूलाई आफ्नो परिसर तथा वरपरका क्षेत्रहरूमा लामखुट्टेको बासस्थान पहिचान गरी लार्भा नष्ट गर्न निर्देशन दिएको छ।
मन्त्रालयको प्रशासन विभागले बिहीबार एक सूचना जारी गर्दै देशभरका सबै सरकारी अस्पताल र स्वास्थ्य केन्द्रहरूलाई प्रत्येक शुक्रबार बिहान ९:३० देखि १०:३० बजेसम्म एक घण्टा लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने अभियान सञ्चालन गर्न सूचित गरेको हो।
उक्त अभियानका लागि मन्त्रालयअन्तर्गतका सबै कर्मचारीहरूलाई तोकिएको समयमा उपस्थित भई आ–आफ्नो कार्यक्षेत्र सरसफाइमा सक्रिय सहभागी हुन पनि भनिएको छ।

यसअघि मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगी नियन्त्रणका लागि देशभरका सरकारी कार्यालय, टोल तथा घर–घरमा प्रत्येक साता एक घण्टाको ‘लार्भा खोज तथा नष्ट’ अभियान सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको थियो।
महाशाखाका अनुसार यो अभियान साउनदेखि असोजसम्म नियमित रूपमा सञ्चालन गरिनुपर्नेछ।








