कञ्चनपुर — सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित दोधारा चाँदनी नगरपालिका–७ की २० वर्षीया महिलाको दोधारा चाँदनी अस्पतालमा पहिलोपटक आकस्मिक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ।
२०८२ साल असार ५ गते ती महिला पेट दुख्ने, वाकवाक लाग्ने र ज्वरो आउने लक्षणका साथ आकस्मिक कक्षमा भर्ना भएकी थिइन्। प्रारम्भिक रूपमा हेल्थ असिस्टेन्ट सुभाष बुढाले औषधि उपचार गरे पनि बिरामीको अवस्था गम्भीर बन्दै गएपछि अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. रोहित भट्टले वरिष्ठ जनरल प्राक्टिसनर डा. हरिओम केशरीसँग परामर्श गरेका थिए।

रगत परीक्षण, भिडियो एक्स–रे र लक्षणका आधारमा “एक्युट एपेन्डिसाइटिस” पुष्टि भएको थियो। एल्वाराडो स्कोर ८ रहेको देखिएपछि शल्यक्रिया आवश्यक हुने निष्कर्षमा चिकित्सक पुगे। शल्यक्रिया नगरे अवस्था जटिल हुने, संक्रमण फैलिने, आन्द्रा फाट्ने र सेप्सिस हुने सम्भावनाबारे बिरामी र उनका परिवारलाई विस्तृत जानकारी दिइयो। आर्थिक अवस्था कमजोर भएकाले अन्यत्र लैजान नसकिने बताएपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा इन्फर्म कन्सेन्ट लिएर शल्यक्रिया गर्ने निर्णय गरियो।

डा. हरिओम केशरीको नेतृत्वमा डा. रोहित वर्मा, एनेस्थेसिया सहायक शंकर कुँवर, नर्स लक्ष्मी भट्ट र स्वस्तिका सुनारको सहयोगमा मध्यरातमा सफल शल्यक्रिया सम्पन्न गरिएको थियो। बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ भने तीन पटकको फलोअपमा पनि कुनै जटिलता नदेखिएको अस्पतालले जनाएको छ।
डा. हरिओम केशरी विगत १५ वर्षदेखि अछाम, खोटाङजस्ता दुर्गम जिल्लामा कार्यरत जनरल प्राक्टिसनर तथा जनस्वास्थ्य विज्ञ हुन्। आपतकालीन अवस्थामा स्पाइनल एनेस्थेसिया दिनेसमेतको अनुभव भएका डा. केशरीले दोधारा चाँदनी अस्पतालमा कार्यरत भएपछि प्रसूति, अपरेशन तथा आकस्मिक सेवामा उल्लेखनीय सुधार ल्याएका छन्।
अस्पतालमा सेवा विस्तार भएसँगै खटिमा वा महेन्द्रनगरसम्म जानुपर्ने बाध्यता घटेको छ। अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. जीवन किरण स्नेहीका अनुसार अब हाइड्रोसिल, हर्निया, बवासिर, पिस्टुला, मिनी ल्याप भ्यासेक्टोमी जस्ता शल्यक्रियाहरू थप गर्ने तयारी भइरहेको छ।







