विराटनगर- कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गत निर्माण हुन लागेको प्रसूति तथा बालरोग अस्पतालको शिलान्यास गरेका छन् । शिलान्यास समारोहमा मुख्यमन्त्री कार्कीले विदेशमा पढ्न जाने प्रवृत्ति घटाउन पूर्वाञ्चल विश्वविद्यालयले नेतृत्वदायी भूमिका खेल्न सक्ने बताए ।

उनले देशमै रहेका संरचना सुधार गर्दै शिक्षाको स्तर उकास्न सके कम खर्चमा गुणस्तरीय शिक्षा उपलब्ध हुने वातावरण बन्ने र यसले विदेशी विद्यार्थीलाई समेत आकर्षण गर्न सक्ने उल्लेख गरे ।
मुख्यमन्त्री कार्कीले विदेशबाट विद्यार्थी ल्याएर नेपालमा पढाउन सके आर्थिक समृद्धिसँगै पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने बताए ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. बिजु थपलियाले यो अस्पताल विश्वविद्यालयकै स्रोतमा निर्माण थालिएको जानकारी दिए । उनका अनुसार, पहिलो चरणमा १२ करोड ४ लाख रुपैयाँ लागतमा निर्माण कार्य सुरु गरिएको हो । जुन २०८३ सालको पुस महिनासम्म सम्पन्न गर्ने लक्ष्य छ । अस्पतालको पूर्ण निर्माणमा करिब ४३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको पनि उनले बताए।
उपकुलपति थपलियाले विश्वविद्यालय परिसरभित्र, सुन्दर हरैँचामा, यो अस्पताल निर्माण भइरहेको जानकारी दिँदै पहिलो चरणको काम सम्पन्न भएपछि थप संरचना निर्माण गरिने बताए । शिक्षण अस्पतालको स्तर उन्नत गर्नकै लागि यो परियोजना अघि बढाइएको उनले स्पष्ट पारे ।







