सर्लाही – सर्लाहीको सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा बिहीबारदेखि नियमित सेवा सुचारु भएको छ। गएको सोमबार सवारी दुर्घटनामा घाइते भई उपचारका लागि ल्याइएका एक बिरामीका आफन्तले अस्पतालका अर्थोपेडिक चिकित्सक डा. कृष्णजङ्ग साहमाथि हातपात गरेपछि मङ्गलबारदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीले दोषीमाथि कारबाही र शान्ति–सुरक्षाको माग गर्दै आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका थिए।

दोषी व्यक्तिहरूले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माफी मागेपछि अस्पतालका आन्दोलित चिकित्सक र स्वास्थ्यकर्मीहरू नियमित सेवामा फर्किएका हुन्। अस्पतालका सूचना अधिकारी डा. अविनाश सिंहले बुधबार साँझसम्मको छलफलपछि सहमति बनेको र बिहीबारदेखि सेवा सुचारु गरिएको जानकारी दिए।
अस्पताल दुई दिनसम्म बन्द हुँदा सर्वसाधारण बिरामीलाई ठूलो सास्ती भएको थियो। सेवा ठप्प भएको मौकामा अस्पतालको गेटमै निजी अस्पताल तथा क्लिनिकका कर्मचारीहरूले बिरामी तानातान गरिरहेको दृश्य देखिएको थियो।

तेस्रो दिन खुलेको अस्पतालमा ओपिडी तथा अन्य विभागमा अत्यधिक बिरामीको चाप देखिएको छ। सोमबार रातिको घटनापछि चिकित्सकमाथि हातपात सम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिएको थियो। यद्यपि, दोषीले माफी मागेपछि थप कारबाही अगाडि नबढाउने सहमति भएको बताइएको छ।
मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सन्जिवकुमार सिंहका अनुसार प्रादेशिक अस्पताल मलङ्गवामा बारम्बार चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार भइरहेकाले अस्पताल प्रशासनले शान्ति र सुरक्षाको प्रत्याभूति गर्न माग गरिरहेको छ।







