काठमाडौं- ललितपुरकाे बीएण्डबी अस्पतालमा कार्यरत नाक, कान, घाँटी (इएनटी) विशेषज्ञ डा. चेतना पाठकले मुख, घाँटी र स्वरनलीसम्बन्धी विभिन्न समस्यामा ‘स्पिच थेरापी’को महत्वबारे प्रकाश पार्दै देशभरि यसको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएकी छन्।

डिस्फेजिया : खाना निल्न गाह्रो हुने समस्या
डा. पाठकका अनुसार, डिस्फेजिया भन्नाले खाना निल्न गाह्रो हुने समस्या बुझिन्छ। यो अवस्था मुख, घाँटी वा खाना नली को कमजोरीका कारण उत्पन्न हुन्छ। ‘‘मुखभित्रको मासपेशी कमजोर हुँदा, वा घाँटीको नली काम गर्न नसक्दा खाना तल झार्न अप्ठ्यारो हुन्छ,’’ उनी भन्छिन्, ‘‘खाना निल्दा दुख्ने, अड्किने वा खोकी लाग्नेजस्ता लक्षण देखिन्छन्।’’

डिस्फेजिया बुढ्यौलीसँग जोडिएको समस्या भए पनि यो कुनै उमेरमा पनि देखिन सक्छ। हाडजोर्नी वा स्नायु प्रणालीको रोग, स्ट्रोक, ट्युमर, वा शल्यक्रिया पछिको असरले पनि यस्तो समस्या देखिन सक्ने उनले बताइन्। प्रारम्भिक परीक्षण र विश्लेषणमार्फत डिस्फेजियाको कारण पत्ता लगाएर आवश्यक औषधोपचार, सर्जरी वा स्पिच थेरापीमार्फत उपचार गर्न सकिने डा. पाठकको भनाइ छ।
स्वर समस्या र स्पिच थेरापीको भूमिका
उनका अनुसार नाकबाट आवाज निस्कनु, स्वर अस्पष्ट हुनु, वा बोल्न गाह्रो हुने समस्या भएका बिरामीहरूमा स्पिच थेरापी अत्यन्त प्रभावकारी हुन्छ। ‘‘घाँटी र नाकको संधि भागमा गडबडी हुँदा आवाज नाकतर्फ निस्कन्छ, जसले गर्दा स्पष्ट बोल्न गाह्रो हुन्छ,’’ डा. पाठकले भनिन्, ‘‘त्यस्तो अवस्थामा स्पिच थेरापीमार्फत आवाजको प्रवाह र उच्चारण सुधार गर्न सकिन्छ।’’

यो थेरापीले न केवल व्यक्तिको भाषणमा सुधार ल्याउँछ, बरु सामाजिक आत्मविश्वास समेत बढाउँछ। बालबालिका, वयस्क र जेष्ठ नागरिकहरू सबैमा आवश्यक पर्न सक्ने यो सेवा स्ट्रोकपछिको अवस्था, ब्रेन इन्जुरी, वा विकासजन्य समस्यामा पनि अत्यन्त उपयोगी हुने बताइन्छ।
नेपालमा अझै धेरै अस्पतालहरूमा स्पिच थेरापी सेवा उपलब्ध छैन। विशेषगरी सुदूर तथा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूमा इएनटी विशेषज्ञ नै नपुग्ने अवस्था हुँदा, स्पिच थेरापी त झन् दुर्लभजस्तै भएको डा. पाठकको भनाइ छ।
‘‘स्पिच थेरापी इएनटी चिकित्सकको सहयोगी हात हो,’’ उनले भनिन्, ‘‘तर अधिकांश अस्पतालमा यो सेवा उपलब्ध छैन। यो उपचार प्रणालीलाई सरकारी तथा शैक्षिक नीतिमा प्राथमिकताका साथ विस्तार गर्नु अपरिहार्य छ।’’
डा. पाठकका अनुसार देशभर स्पिच थेरापीको पहुँच कायम गर्न सकेमा खाना निल्न गाह्रो हुनेदेखि स्वरसम्बन्धी जटिलता भोगिरहेका सयौँ बिरामीको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउन सकिन्छ।







