काठमाडौं- नेपाल औषधि उत्पादक संघ (एपोन) को महाधिवेशन आगामी साउन १९ गते काठमाडौंमा हुने भएको छ। संघको आइतबार बसेको कार्यसमिति बैठकले महाधिवेशनको तयारीलाई तीव्रता दिन निर्वाचन समिति तथा अधिवेशन तयारी समिति गठन गरेको हो।

बैठकले संघका निवर्तमान अध्यक्ष प्रज्वल जङ्ग पाण्डेको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ। सो समितिमा पूर्व अध्यक्ष महेश गोर्खाली र वरिष्ठ अधिवक्ता रमेश प्रसाद धिताल सदस्य रहेका छन्।

महाधिवेशनको व्यवस्थापन तथा तयारीका लागि वरिष्ठ उपाध्यक्ष प्रभात रुङ्ग्टाको संयोजकत्वमा अधिवेशन तयारी समिति गठन गरिएको उपाध्यक्ष सन्तोष बरालले जानकारी दिए। उक्त समितिमा उपाध्यक्ष बराल स्वयं, कार्यसमिति सदस्य शैलेस वैध र सुमित चन्द्र श्रेष्ठ सदस्य रहेका छन्।
संघका अनुसार महाधिवेशनमा औषधि उद्योगसँग सम्बन्धित नीति, प्रविधि, व्यवसायको वर्तमान अवस्था तथा सुधारका सम्भाव्य विषयहरूमा गहन छलफल गरिनेछ।







