
भैरहवा- नेपाल अफ्थाल्मिक सोसाइटीले भैरहवामा नेत्र चिकित्सकहरूका लागि एकदिने नेतृत्व विकास तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। तालिममा भैरहवा तथा आसपासका आँखा अस्पतालहरूमा कार्यरत नेत्र चिकित्सक र आवासीय चिकित्सकहरूको उल्लेखनीय सहभागिता रह्यो।
कार्यक्रमका प्रमुख प्रशिक्षक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नेतृत्व विकास प्रशिक्षक अनिल प्रसाद श्रेष्ठ थिए। वित्त, बीमा, शिक्षा, हवाइ सेवा, कृषि तथा व्यवसायिक नेतृत्वजस्ता क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव भएका श्रेष्ठ प्रेरणादायी वक्ता एवं रणनीतिक प्रशिक्षक मानिन्छन्।
उनले नेतृत्वका सैद्धान्तिक पक्षहरू, व्यवहारिक कार्यान्वयन, समूह समन्वय, प्रभावकारी सञ्चार कला, परियोजना व्यवस्थापन, सार्वजनिक सम्बन्ध विकास र समालोचनात्मक सोच लगायतका विषयमा सहभागीहरूलाई गहन प्रशिक्षण दिएका थिए।

तालिममा नेपाल अफ्थाल्मिक सोसाइटीका महासचिव तथा नेत्र रोग विशेषज्ञ डा. तेजसु सिंह मल्ल सह-प्रशिक्षकको रूपमा सहभागी भए। उनले चिकित्सकहरूले व्यवहारिक कार्यक्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दा भोग्ने चुनौतीहरूलाई सम्बोधन गर्न यस्ता तालिमहरूको आवश्यकता औँल्याएका थिए। “चिकित्सा शिक्षाको पाठ्यक्रममा नेतृत्व विकास समावेश नभएकाले व्यवहारमा नेतृत्व चुनौतीपूर्ण देखिएको छ,” उनले भने।
नेपाल अफ्थाल्मिक सोसाइटीका अध्यक्ष एसोसिएट प्रोफेसर डा. पुरुषोत्तम जोशीले तालिमप्रति सन्तुष्टि व्यक्त गर्दै भने, “सदस्यहरूको व्यक्तिगत तथा व्यवसायिक विकासका लागि यस्ता कार्यक्रमहरू महत्वपूर्ण छन्। यसअघि गण्डकी प्रदेशमा पनि यस्तै कार्यक्रम सम्पन्न गरिएको थियो र अन्य प्रदेशहरूमा पनि विस्तार गर्ने योजना छ।”

सोसाइटीले आगामी मंसिर २७ देखि २९ गते (नोभेम्बर १३–१५) सम्म आयोजना हुने वार्षिक सम्मेलन अन्तर्गत दुईदिने नेतृत्व विकास तालिम पनि सञ्चालन गर्ने योजना बनाएको छ। सो अवसरमा सहभागी चिकित्सकहरूलाई अन्तर्राष्ट्रिय नेतृत्व विकास कार्यक्रममा सहभागिता जनाउने अवसर समेत प्रदान गरिनेछ।
सन् १९८५ मा स्थापित नेपाल अफ्थाल्मिक सोसाइटी हाल देशभर पाँच सयभन्दा बढी नेत्र चिकित्सकहरूको छाता संस्था हो। यसले नेत्र विशेषज्ञहरूको पेशागत उन्नयन, हकहित संरक्षण र सार्वजनिक स्वास्थ्य नीतिमा सुधारका लागि निरन्तर पहल गर्दै आइरहेको छ।



