काठमाडौं, ३ फागुन । फेब्रुअरी १५ अन्तराष्ट्रिय बाल्यकाल क्यान्सर दिवसका रुपमा मनाउने गरिएको छ । यो दिन बालबालिकामा हुने क्यान्सरका बारेमा सचेतना विस्तार गर्ने अभियानहरु आयोजना गरिन्छ । ललितपुर हरिसिद्धीमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर लिमिटेडले पनि यो दिवस मनाएको छ । यो वर्ष नेपाल क्यान्सरले ससाना बालबालिकासँग खुशी साँटेर दिवस मनाएको छ ।
शनिवार अस्पतालमा आयोजित एक कार्यक्रममा क्यान्सर जितेका बालबालिकाहरु उन्मुक्त भएर नाचे, गाए र रमाए । अबोध बालखमै क्यान्सरसँग जुध्न विवश ती साना बालबालिकाले क्यान्सर जितेर सुन्दर जीवन बाँचिरहेका छन् । आफुले जन्माएको हुर्काएको शिशुलाई क्यान्सरमुक्त गराएका अभिभावक पनि बच्चाहरुको नाचमा रमाए, ताली बजाए र उनीहरुको खुशीमा एकाकार भए । नेपाल क्यान्सर अस्पतालकी बाल्यकाल क्यान्सर विशेषज्ञ डा. अञ्जली पण्डितले क्यान्सरसँग जुध्न सकिन्छ र स्वस्थ जीवन प्राप्त गर्नसकिन्छ भनेर उत्साह जगाउन सांगितिक कार्यक्रम गरिएको बताइन् । कार्यक्रममा ५० जनाभन्दा बढि बालबालिका आफ्ना अभिभावक सहित सहभागी भएका थिए ।

नाचगान कार्यक्रममा अर्सिया सुवेदी, इसु गौतम, दृष्टि बोहरा, अवनी रेग्मी, पासांग शेर्पा, कैशा श्रेष्ठ, अमोल थापा, विवेक डाँगी, अश्ना साउद र दर्शील पाण्डे लगायत क्यान्सर विजेता बालबालिकाले सहभागिता जनाएका थिए । अस्पतालले कार्यक्रममा सहभागी सबै बालबालिकालाई विभिन्न उपहार पनि दिएको छ ।
अस्पतालले सबै मिलेर बाल्यकाल क्यान्सर विरुद्धको सचेतना फैलाऔं, उपचारलाई प्रभावकारी बनाऔं र हरेक बालबालिकालाई उज्ज्वल भविष्य प्रदान गरौं भन्ने नारा लिएर दिवस मनाएको अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठले बताइन् । उनले बालबालिकाको क्यान्सर उपचारका लागि राज्यले सहुलियत दिनुपर्ने बताइन् । क्यान्सर उपचारमा परिवार र अभिभावकको ठूलो लगानी पर्नेभन्दै श्रेष्ठले बालबालिकाको क्यान्सर उपचारमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रम नेपाल क्यान्सर अस्पतालको प्रिभेन्टिभ डिपार्टमेन्ट तथा पेडियाट्रिक अन्कोलोजी विभागले आयोजना र नेपाल क्यान्सर सपोर्ट ग्रुप, उपचारका लागि सहयोगी हातहरु र हार्ड रक क्याफे काठमाडौंको सहकार्यमा सम्पन्न भएको अस्पतालका पेडियाट्रक अन्कोलोजी विभागका वरिष्ठ फिजिसियन डा. प्रकाशनिधी तिवारीले बताए ।

बाल्यकालीन क्यान्सर विश्वभरि एक गम्भीर स्वास्थ्य समस्या हो। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, प्रत्येक वर्ष करिब ४ लाख बालबालिकामा क्यान्सर निदान गरिन्छ। विकसित देशहरूमा बाल्यकालीन क्यान्सरको जीवित रहने दर ८०% भन्दा बढी छ, जबकि विकासशील देशहरूमा यो दर ३०% भन्दा कम छ

डा. अञ्जली पण्डित, बाल्यकाल क्यान्सर विशेषज्ञ
नेपालमा, बाल्यकालीन क्यान्सरसम्बन्धी विस्तृत राष्ट्रिय तथ्याङ्क उपलब्ध छैन। तथापि, नेपाल क्यान्सर रजिस्ट्रीका अनुसार, प्रत्येक वर्ष करिब १,५०० देखि २,००० बालबालिकामा क्यान्सर निदान हुने अनुमान छ। नेपालमा बाल्यकालीन क्यान्सरको उपचार र निदानमा चुनौतीहरू रहेका छन्, जसमा स्वास्थ्य सेवाको पहुँच, जनचेतना अभाव, र आर्थिक सीमितता प्रमुख छन्।
बाल्यकालीन क्यान्सरको समयमा पहिचान र उपचारले जीवित रहने दरमा सुधार गर्न सकिन्छ। यसका लागि स्वास्थ्य सेवाको सुदृढीकरण, जनचेतना अभिवृद्धि, र आवश्यक स्रोतहरूको व्यवस्थापन आवश्यक छ।