काठमाडौं, २२ माघ । नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर लिमिटेडले विश्व क्यान्सर दिवस २०२५ मनाएको छ ।
१० वर्षदेखि क्यान्सरको विशिष्टिकृत उपचारमा क्रियाशिल अस्पतालले दिवसको अवसर पारेर क्यान्सरका क्षेत्रमा क्रियाशिल व्यक्तिलाई सम्मानित पनि गरेको छ । मंगलबार अस्पतालमा आयोजित एक कार्यक्रममा सन्तानलाई क्यान्सरबाट गुमाएकी श्रीमती राजेश्वरी पसाछेनलाई क्यान्सरको उपचार र सचेतनाका क्षेत्रमा काम गरेको भन्दै अस्पतालले सम्मानित गरेको छ । पसाछेनले आफ्नो छोरालाई क्यान्सरका कारण गुमाउनु परेपछि क्यान्सर सचेतनामा क्रियाशिल भएर लागेकी छिन् ।
साथै अस्पतालले दिवसको अवसर पारेर धुम्रपान परित्याग क्लिनिक पनि सुरु गरेको छ । क्लिनिकले धुम्रपान त्याग्न चाहाने मानिस र क्यान्सरका बिरामीलाई परामर्श दिनुका साथै धुम्रपान त्याग्न प्रयोग हुन थालेका औषधिहरु दिएर लत छुटाउन कार्य गर्ने अस्पतालकी क्यान्सर मनोचिकित्सक डा. नम्रता प्रधानले बताइन् । धुम्रपान नगर्ने हो भने क्यान्सर लाग्ने सम्भावना एक तिहाईले कम हुने उनको भनाइ छ ।
‘युनाइटेड बाई युनिक’ भन्ने नाराका साथ मनाइएको यस वर्षको क्यान्सर दिवसको कार्यक्रममा अस्पतालका साथै नेपाल क्यान्सर सर्भाइभल ग्रुप, उपाचारको लागि सहयोगी हातहरु एवं इजी केयर लगायत संस्थाले हातेमालो गरेका छन् ।
हाल नेपालमा क्यान्सर भयावह रुपमा देखापरेको छ । बदलिँदो जीवनशैली, खानपान र अस्वस्थकर वातावरणका कारण क्यान्सर पहिचान हुने दर बढेको छ । नेपालमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर लगायत थुप्रै प्रकारका क्यान्सरले वर्षेनी हजारौं मानिसको ज्यान गइरहेको छ ।
क्यान्सरको बारेमा यथेष्ट जानकारी नुहँदा क्यान्सर पहिचान ढिलो हुने र बिरामीले मृत्युवरण गर्ने अवस्था रहेको नेपाल क्यान्सर अस्पतालका अध्यक्ष डा. सुदीप श्रेष्ठले जानकारी दिए । क्यान्सरको छिटै पहिचान गर्न र नेपालमै उपचार गर्न प्रशस्त प्रविधि र जनशक्तिको व्यवस्था भएको भन्दै अस्पतालका मेडिकल डाइरेक्टर डा. विजेशराज घिमिरेले आफुहरु नेपालीको क्यान्सर उपचार नेपालमै भन्ने नाराका साथ उपचार कार्यमा क्रियाशिल भएको बताए ।
भिडियो हेर्नुहोस्