

काठमाडौं, १९ माघ । नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले विश्व क्यान्सर दिवसको अवसर पारेर सचेतनामूलक प्रभातफेरिको आयोजना गरेको छ ।
फेब्रुअरी ४ का दिन विश्वभर क्यान्सर दिवस मनाउने गरिएको छ । बिहान ८ बजे अस्पताल प्रांगणबाट सुरु भएको प्रभातफेरि हरिसिद्धी मावी, नयाँबस्ती, हरिसिद्धी बसपार्क, गुमोज चोक, ढुसाल धारापानी ट्यांकी हुँदै अस्पतालमै आएर सम्पन्न भएको थियो । कार्यक्रमका सहभागीहरुले क्यान्सर सचेतना सम्बन्धी विभिन्न प्लेकार्ड बोकेका थिए । क्यान्सरको सचेतना बढाएर समयमै क्यान्सर पहिचान हुनसकेमा क्यान्सरको सहज उपचार नेपालमै सम्भव भएको प्रभातफेरीमा उपस्थित सहभागीको भनाइ छ ।
नेपाल क्यान्सर अस्पताल एवं रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा. बिजेशराज घिमिरेले क्यान्सर दिवसको अवसरमा अस्पतालले सचेतना फैलाउने उद्देश्यले प्रभातफेरि आयोजना गरेको बताए । साथै अस्पतालले क्यान्सर दिवसको अवसरमा क्यान्सर पहिचानमा १० प्रतिशत छुटको व्यवस्था पनि गरेको छ । अस्पतालका अर्का क्यान्सर रोग विशेषज्ञ डा. कपेन्द्र शेखर अमात्यले पछिल्लो समयमा क्यान्सर रोग सम्बन्धी सेचतना विस्तार हुँदा क्यान्सर पहिचान छिटो हुनथालेको बताए ।
‘पहिले पहिले तेश्रो चौथो चरणमा देखिने क्यान्सर सचेतना विस्तार हुँदै गएपछि हाल पहिलो दोश्रो चरणमै पहिचान हुन थालेको छ । बिरामीहरुमा चेतना बढेको छ ।’
अस्पतालले फेब्रुअरी ४ अर्थात माघ २२ गते एक कार्यक्रम राखेर क्यान्सरका क्षेत्रमा योगदान दिने एकजना व्यक्तिलाई पुरस्कृत गर्ने लगायत कार्यक्रम पनि राखेको छ । नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरले प्रत्येक वर्ष दिवसका अवसर पारेर विभिन्न क्यान्सर सम्बन्धी जनचेतना विस्तार गर्ने कार्य गर्दै आएको छ ।









