डा. जगदिशलाल वैद्य ८० वर्षका भए । ८० वर्षको बुढ्यौलीमा पनि उस्तै जोश र आत्मविश्वासको जीवन बाँचिरहेका छन् । डा. वैद्य जीवनको सुखद् उत्तराद्र्धमा आफैले जन्माएको बी एण्ड बी अस्पतालमा दैनिक जान्छन् । बिरामी हेर्छन । प्रशासन हेर्छन । कहिले काँही अप्रेशनमा पनि बस्छन् अनि घर फर्किएर आफुले बालखदेखि नै माया गरेकी श्रीमतिसँग टहलिन्छन् ।
वैद्यलाई बुझ्न सर्वप्रथम बी एण्ड बी अस्पताललाई सम्झिए सहज हुन्छ । बीएण्डबी अस्पताल नसुन्ने कमै नेपाली होलान् । त्यहि अस्पतालका एकजना निर्माता डा. वैद्य अर्थात डा. जगदिशलाल वैद्यले आफ्ना पुराना दुःख, संघर्ष र उपलब्धिका कथाहरु सुनाएका छन् । सन् १९७० को दशकमै अन्तराष्ट्रिय स्तरको चिकित्सक बनिसकेका वैद्यले समयक्रममा स्वदेश फर्किएर सेवामात्र गरेनन्, चिकित्सा क्षेत्रमा अतुलनीय योगदान गरेका छन् । विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने एउटा भिमकाय संस्था पनि निर्माण गरेर राष्ट्रलाई ठूलो गून लगाएका छन् ।
कार्तिकको हल्का सिरेठोले वैद्यको ललितपुर ढोलाहिटीस्थित भव्य घर र बगैँचालाई सुरम्य बनाएको थियो । वैद्यले पोखराबाट एसएलसी पास गरेदेखिका घटनाक्रमलाई सम्झिए । त्यो समय नेपालमा मेडिकल कलेज थिएन । ‘पोखरामा त बिजुली समेत थिएन ।’- डा. वैद्य सम्झन्छन् । पोखराबाट एसएलसी दिएर काठमाडौंमा आइ वैद्यले आइएस्सी गरे । त्रिचन्द्र कलेजबाट बीएस्सी पनि गरेपछि उनी सन् १९६६ अर्थात विसं २०२४ सालमा ग्ल्याण्ड-सी गभर्मेन्ट मेडिकल कलेज अमृतसरमा मेडिकल साइन्स पढ्न गए । इन्टर्नसिप समेत सकेर डा. वैद्य २०२८ सालमा नेपाल फर्किएपनि नोकरी पाउन गाह्रो थियो । पाएको जागिरमा पनि भोलेन्टियर गर भन्ने भन्थे । तर, उनले त्यतिबेलाको शान्तभवन मिशन अस्पतालमा हाउस अफिसरको जागिर पाए ।
गोर्डेन म्याक र सर्जन बन्ने सपना
डा. वैद्यले शान्तभवन अस्पतालमा काम गर्न थालेपछि उनी डा. गोर्डेन म्याक भन्ने सर्जनको मातहतमा बसेर काम गर्न थाले । वैद्यलाई म्याकको प्रभाव यतिधेरै पर्यो कि उनमा सर्जन बन्ने हुटहुटी चल्यो । नेपालमा पढ्ने कुनै व्यवस्था थिएन । इसिएफएमजी भन्ने जाँच दिएर अमेरिका जान पाइन्थ्यो । तर, सरकारले ब्रेन ड्रेन हुन्छ भनेर राहदानी दिँदैनथ्यो । तत्कालिन शान्तभवन अस्पतालमा हाउस डा. वैद्यले एउटा जुक्ति लगाए । किसान भनेर पासपोर्ट लिए र बेलायतमा काम गर्दै पढ्न पाउने आशमा सन् १९७३ मा बेलायत उडे ।
५० डलर लिएर बेलायत
वैद्यलाई शान्तभवन अस्पतालमा देखेका ब्रिटिसहरु वैद्यलाई चिन्थे । उनलाई त्यसैले भिसा दिए । उनी त्यसलाई भाग्यले साथ दिएको भन्छन् । वैद्यको आर्थिक अवस्था त्यस्तो बलियो थिएन । त्यतिबेला विदेश जानेलाई बढिमा सय डलर लैजान दिन्थ्यो । वैद्यले जम्मा ५० डलर लिएर गएका थिए । उनी अभावका बीचबाट भाग्यले साथ दिँदै उदाएका एकजना मुर्धन्य चिकित्सक हुन् । बेलायत पुगेर पनि उनको जीवन सहज थिएन । त्यहाँ के गर्ने, कसो गर्ने केही थाहा थिएन । तर, उनलाई भाग्यले फेरि साथ दियो । उनको भेट बेलायतमा रहेका शान्तभवन अस्पतालमै काम गरेका नेपाली डाक्टर बिहारीलाल श्रेष्ठसँग भेट भयो । बस्ने ठाउँको बन्दोबस्त भयो । अब उनलाई त्यहाँको अस्पतालमा स्वयंसेवक भएर काम गर्नुपर्ने थियो । थप अध्ययन गर्नका लागि उक्त अस्पतालको सिफारिस पत्र अनिवार्य आवश्यक थियो । त्यस मामलामा पनि वैद्य भाग्यमानी ठहरिए ।
डा. म्याकको प्रभावमा काम गरेका वैद्यको जादुले हरेक बाधाहरु पन्छाउँदै उनी सपनाको डिग्री ‘एफआरसिएस’ पढ्न योग्य भए । एफरासिएस सर्जनहरुको प्रतिष्ठित फेलोसिप कार्यक्रम हो । एफआरसिएस भनेको फेलोसिफ अफ द रोयल कलेज अर्फ सर्जन हो । यो फेलोसिप पास गरेका मानिसले मात्र बेलायत, आयरल्याण्डमा शल्यक्रिया गर्न पाउँथे ।
वैद्यले त्यसक्रममा राम्रा जागिर पाए । उनले सुरुमा ६-७ वर्ष जनरल सर्जरी गरे, अर्थोपेडिक सर्जरी पनि गरे । पछि उनले युरोसर्जरीमा विशिष्टता हासिल गरे । सन् १९७७ मा डा. वैद्यले एफआरसिएस पास गरे ।
५ वर्ष काम गरेपछि देश फर्कने निर्णय
डा. वैद्यले एफआरसिएस पास गरेपनि थप अभ्याँस गर्नुपर्ने थियो । त्यसपछि उनले बेलायतका विभिन्न अस्पतालमा काम गरे । नेपाल आउनुअघि उनी च्यारिंग क्रस अस्पतालमा काम गर्दैथिए । बेलायतमा काम गर्दागर्दै डा. वैद्यको बिहेवारी भएर छोराहरु जन्मिसकेका थिए । त्यसक्रममा नेपाल फर्किने वा त्यतै व्यवस्थित हुने दुईवटा विकल्प वैद्यसँग थिए । उनले नाइजेरिया र ब्रुनाईमा जागिरको दर्खास्त दिएका दिए । नाइजेरियाले बोलाएको थियो । तलब राम्रो थियो । तर, वैद्यको मनमा देशमै फर्किने हुटहुटी थियो । जम्मा गरेको पैसाले युरोलोजीको शल्यक्रिया गर्ने सामान किनेर नेपाल फर्किए ।
भेट भयो बास्कोटासँग…
नेपालमा आएर जागिर खाानका लागि वैद्यले धेरै प्रयास गरे । उनलाई वीर अस्पतालमा हाउस अफिसरको काम गर्न भनियो । बेलायतमा सर्जन भइसकेको मान्छे हाउसअफिसर नबन्ने उनले निधो गरे । त्यहि मेसोमा डा. वैद्यले उनका हालका विजनेश पार्टनर डा. अशोक बास्कोटालाई भेटे । उनीपनि त्यस्तै अवस्थामा थिए । उनीहरु दुवै वीरमा काम नगरेर मिशन अस्पताल शान्तभवनमा काम गरे । उनीहरुले त्यहाँ जनरल सर्जनको जागिर पाए । त्यो बेलामा वीर अस्पतालमा डा. दिनेश गंगोल, डा. लोकविक्रम थापा, डा. एसके भट्टाचार्य लगायत डाक्टरले सर्जरी गर्थे । राम्रै थियो । तर, वैद्य बेलायतबाट फर्किएका थिए । नयाँ प्रविधि र सिकाई थियो उनमा । उनले आफ्नो क्षमता मिशन अस्पतालमा देखाए । जनरल सर्जन भएपनि उनले युरोसर्जरीमा केन्द्रित हुने गर्थे । किनकी उनले युरोसर्जरीका सामान किनेर ल्याएका थिए ।
बिदेशबाट फर्किएका डाक्टर भनेर परिवारभित्र वैद्यप्रति अपेक्षा थियो । चिनजान नातागोताले पनि खुबै पैसा कमाएर ल्याएको लख काटेका थिए । चिकित्सा क्षेत्रले पनि धेरै नै अपेक्षा गरेको थियो । तर वैद्यको अवस्था त्यस्तो थिएन । उनले अधिकांश पैसाले उपकरण किनेर ल्याएका थिए भने बाँकी पैसा जापानबाट मगाएको स्टारलेक्स गाडीको साँढे दुईसय प्रतिशत भन्सार तिर्दा सकिएको थियो । अन्जानमा त्यत्रो भन्सार तिर्नपरेको वैद्य बताउँछन् । त्यो सबै चुनौतिको बीचमा उनले शान्तभवन अस्पतालमा काम थाले । तलब जम्मा १५ सय रुपैयाँ थियो । त्यसले आफ्नो र परिवारको आवश्यक्ता र अपेक्षा पुरा गर्न सक्ने अवस्था नै थिएन ।
प्राइभेट अस्पताल खोल्ने सोच
उनले विस्तारै सरकारी स्वास्थ्य सेवाले मात्र नेपालको धान्न नसक्ने अवस्था बुझे । प्राइभेट क्षेत्रबाट पनि चिकित्सा सेवा दिन सकिने सोच बनाएर काठमाडौं नर्सिंग होम खोले । त्यतिबेलाका चलेका चिकित्सक फिजिसियन आइएल (ईश्वरलाल आचार्य) र आँखाका डाक्टर एनसी राई समेत डा. वैद्य र बास्कोटा मिलेर खोलेको काठमाडौं नर्सिंग होम ८ बेडबाट सुरु भएपनि पछि ६५ बेडसम्म पनि खचाखच हुनथालेपछि बैद्य र बास्कोटाले आफ्नै भवनमा ठूलो अस्पताल बनाउने सोचका साथ बीएण्डबी अस्पताल सन् १९९७ मा खोलेका हुन् । १० लाख ऋण र आफुले कमाएको केही पैसा लगानी गरेर उनीरुले बीएण्डबी सुरु गरेका थिए । सुरुमा ५० शैयाबाट अस्पताल सुरु भएको थियो ।
काठमाडौं अस्पताल नाम नपाएपछि फुर्यो ‘बी एण्ड बी‘
वैद्य र बास्कोटाले अस्पताल खोल्ने निर्णय गरेपछि काठमाडौं अस्पताल नाम राख्न खोजे । तर, यताका काठमाडौं अस्पतालले त्यो नाम दिएन । न्यू काठमाडौं अस्पताल राख्न खोजे त्यो पनि पाएनन् । त्यसपछि उनीहरुले आफ्नो दिमागी बच्चा भएको भन्दै अस्पतालको नाम ‘बी एण्ड बी’ राखे । बी एण्ड बीमा सुरुको बीको अर्थ वैद्य र दोश्रो बास्कोटा हो । यसको पनि अर्थ छ । वैद्य बास्कोटाभन्दा ४ वर्ष सिनियर भएकाले उनको नाम सुरुमा राखिएको हो । सुरुमा त कतिपय चिकित्सकले बीएण्डबी अस्पतालमा नामकै कारणले काम गर्नसमेत असहज माने । आफ्नो नामबाट अस्पताल खोलेको भन्दै खिसि गरे । तर, कालान्तरमा त्यहि नाम ब्राण्ड भएको हो । हजारभन्दा धेरै मानिसले काम गर्ने विशाल संस्थाका रुपमा खडा भएको छ । बी एण्ड बीमा काम गर्न मानिस लालायित हुन्छन् ।
बीएण्डबी अस्पतालले विशेषगरि अर्थोपेडिकमा तहल्कै पिट्यो । दुर्घटना र चोटपटक लागेका मान्छेले एकपटक न एकपटक बीएण्डबी सुनकै छन् । कतिपय गएकै छन् । बीएण्डबीले समयक्रममा हाडजोर्नी र युरोलोजीमा मात्र नभएर अन्य विविध क्षेत्रमा हात हाल्दै अहिले आएर रोबोर्टिक सर्जरी समेत सुरु गरिसकेको छ । बी एण्ड बी ‘प्लस’ भन्ने नयाँ भवन थपेर काम भैरहेको छ ।
३ सय शैया र २२ वटा अप्रेशन थियटर
पाटन हस्पिटल छाडेर यता लागेपछि वैद्य र वास्कोटाले बीएण्डबीलाई उचाई दिइरहे । हाल आउँदा ३ सय बेडको सबैभन्दा ठूलो अस्पताल बनेको छ । २२ वटा त अप्रेशन थिएटर छ । ९ वटा त मोडुलर अप्रेशन थिएटर छ । २ सय जना चिकित्सक र ४ सय जना नर्स अस्पतालमा काम गर्छन । बीएण्डबी अस्पताल ललितपुरको सबैभन्दा धेरै कर तिर्ने संस्था हो । १० प्रतिशत बेड गरिब र विपन्नलाई छुट्याइएको छ । धनिले मात्र नभएर भैँसी बेचेर उपचार गर्न आउने बिरामीले निःशुल्क सेवा पाउन भन्ने उद्देश्यल निःशुल्क बेड राखिएको वैद्य बताउँछन् ।
वर्षेनी १२-१४ हजारभन्दा धेरै शल्यक्रिया हुनेगरेको अस्पतालले ५ वर्ष काठमाडौं विश्व विद्यालयको शिक्षण अस्पतालका रुपमा अध्यापनको काम गरेको छ । हालपनि अस्पतालमा पोष्ट ग्रयाजुएटका बिद्यार्थीले पैसा लिएर काम गर्छन । अस्पतालकै लगानीमा चिकित्सकलाई छात्रवृत्ति सञ्चालन गरिएको थियो । बीएण्डबी अस्पताललाई वैद्य र बास्कोटाले एउटा ‘पर्फेक्ट’ अस्पताल बनाएका छन् । ५० वर्षअघि चिकित्सक भएका दुई होनाहार डाक्टरले विदेशमै ‘सेटल’ हुने सुविधाको उपभोग नगरि नेपाल फर्कँदा नेपाली चिकित्सा क्षेत्रको ठूलो उन्नयन भएको छ ।
घाम ढल्किँदै गर्दा डा. वैद्यको बगैँचामा हावाको सिरेठोले ठण्डी बढ्दै थियो । वैद्यले अन्तिमतिर गफ टुंग्याउने मेसोमा भने, ‘हेर्नुस् सँधै मैले यस्तो सेवा र अस्पतालका बारेमा सोचेँ जुन अस्पतालमा म आफै र आफ्नो परिवारको उपचार गराउन सकुँ । हो, त्यस्तै चिकित्सक बन्छु र अस्पताल बनाउँछु भन्ने दृढताले हामी यहाँ आइपुगेका हौं ।’