
काठमाडौं- बालबालिकालाई आज पनि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापाले कात्तिक २ र ३ गते ५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी कार्यक्रम गरिएको बताए ।
उनले सात सय ५३ स्थानीय तहमा यस्को व्यवस्था रहेको जनाउँदै पायकपर्ने स्थान विद्यालय, वडा कार्यालयमा स्वस्थ्य स्वयंसेविकालाई परिचालन गरिएको बताए ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल तथा एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ ।
उनले भने,‘बालबालिकाको सर्वाङ्गीण विकासको लागि खोप र पोषण दुवै अपरिहार्य आवश्यक छ । ६ महिनादेखि ५ वर्ष मुनिका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक देखि पाँच वर्ष मुनिका बालबालिकालाई १८ देखि १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य लिएका छौँ ।’



