
काठमाडाैं- अहिले दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धमा जाडो मौसम सुरु भएको छ । जुन अक्टोबर देखि मे महिनासम्म रहन्छ । यो समयमा विभिन्न किसिमका भाइरसहरूको संक्रमण भएको देखिन्छ । अहिले त्यस्तै रुघा लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने जस्ता समस्या अधिकांश व्यक्तिमा देखिएको छ । यसलाई मौसमी ‘फ्लू’ भन्ने गरिन्छ ।
वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा ओम प्रकाश यादवका अनुसार घाँटी दुख्दैमा वा ज्वरो आउँदैमा यो भाइरस हुन्छ भन्ने हुँदैन । अन्य ब्याक्टेरियल संक्रमण पनि हुनसक्छ । भाइरसको संक्रमण हो कि व्याक्टेरियल संक्रमण हो भन्ने कुरा परीक्षण गरेपछि मात्र थाहा पाउन सकिन्छ ।
यादवका अनुसार नाकको एउटा प्वाल खुलेपछि अर्को बन्द हुने सामान्य प्रकृया हो । यो प्रकृयाबाहेक अन्य समस्याले पनि नाक बन्द हुन सक्छ । जुन परीक्षण गरेपछि मात्र थाहा हुन्छ । अहिलेको मौसमी ‘फ्लू’ ले पनि नाक बन्द हुन सक्छ ।
नाकको हड्डी बाङ्गो हुने, नाकमा मासु पलाउने, बच्चाको नाकमा फोहोर जम्ने वा कुनै बस्तु अड्किने जस्ता कारणले पनि नाक बन्द हुन सक्छ । उमेर पुगेका व्यक्तिमा नाकको क्यान्सर हुन सक्ने भएकाले पनि नाक बन्द हुन सक्छ । परीक्षण नगरी के कारणले बन्द भएको हो भनेर पत्ता लगाउन सकिँदैन ।
मौसमी ‘फ्लू’ विशेषगरी पाँच वर्ष मुनिका बालबालिका तथा ६५ वर्ष माथिका व्यक्तिमा बढी देखिन्छ । दिर्घरोगी तथा एचआइभी संक्रमित व्यक्तिहरूमा पनि यो बढी देखिन्छ । विशेषगरी यो समूहमा रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा फ्लूले आक्रमण गरेको उनी बताउँछन् ।
‘नाक बन्द हुन वा मौसमी फ्लू हुनबाट बच्नलाई भिडभाडमा जानु हुँदैन । मास्क लगाएर हिड्नाले वा तातो पानी पिउनाले पनि केही हदसम्म यसबाट बच्न सकिन्छ । त्यस्तै तातो पानीको बाफ लिने तथा रोगप्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खाने पनि गर्नु पर्छ’ उनले भने ।
रुघाखोकी तथा मौसमी फ्लूको संक्रमण भएको अवस्थामा डाक्टरलाई नभेटी फार्मेशीमा गएर औषधि किनेर खाने चलन रहेको उनको भनाइ छ । कुनैपनि व्यक्तिलाई मौसमी फ्लू नै भएको हो भने हप्ता दिनमा ठिक हुनुपर्छ । यदि हप्ता दिनमा नियन्त्रण भएन भने डाक्टरकोमा जानुपर्छ ।
कहिलेकाहिँ यसले निमोनिया पनि हुन सक्ने उनी बताउँछन् । त्यसैले रूघाखोकी वा मौसमी फ्लू निको भइहाल्न भनेर पनि भनेर अटेर गर्नु हुँदैन । डाक्टरलाई भेटेर सल्लाह लिएर औषधि खानु पर्ने उनको भनाई रहेको छ ।



