
अहिले सुख सुविधाका लागि धेरैले आफ्नो जीवनशैली र खानपान परिवर्तन गर्ने गरेका छन् । जीवनशैली परिवर्तनसँगै मानिसहरू विभिन्न किसिमका मानसिक रोगको सिकार भएको पाइन्छ । जसमध्ये पिटियसटी पनि एक हो ।
मानसिक रोग विशेषज्ञ प्रेरणा झाका अनुसार पीटयसटी भनेको पोस्ट ट्रम्याटिक स्ट्रेस् डिस अडर हो । जुन हाम्रो जीवनमा कुनै किसिमको डरलाग्दो घटनापछि देखापर्छ । यो बच्चा आवस्थादेखि नै सुरु हुन पनि सक्छ । सामाजिक, शरीरिक, प्राकृतिक तथा शंवेदात्मक घटनाले यो समस्या सिर्जना गर्दछ ।
आफ्नो जीवनकालमा आफूले पाएको कुरा गुमाएपछि वा धनजनको क्षति भएपछि पनि यो अवस्था आउँन सक्छ । पीटियसटेव कुनै घटना भएपछि तत्कालै देखिने भन्ने हुँदैन । यो घटना भएको लामो समयपछि पनि देखिन सक्छ । यो कसै-कसैको जीवनभरी पनि देखिन सक्छ ।
झाका अनुसार बारम्बार एउटै घटना हाम्रो दिमागमा आउनु, बितेको घटना प्रस्ट रूपमा हाम्रो दिमागमा आउनु, घटना बिसौँ वर्ष पुरानो भएपनि अहिले नै भएको जस्तो अनुभव हुनु, यसरी आएका घटना वा विचारले आफूलाई असर गर्नु, त्यो घटनासँग सम्बन्धित सपनाहरू देखिरहनु लगायतका लक्षण यसमा देखिन्छन् । यी लक्षणको कारणले गर्दा हामीले एन्जाइटि वा डिप्रेशन हो कि पिटियसटी हो भनेर छुट्याउन सकिन्छ ।
यो बाहेक अन्य लक्षणहरूमा मुटु ढुकढुक भइरहने, आत्मविश्वास कम हुने, आफ्नो क्षमता अनुसार काम गर्न नसक्ने वा काममा ध्यान नदिने । व्यक्तिगत जीवनमा त्यस घटनासँग सम्बन्धित घटना वा व्यक्तिसँग घृणा पैदा हुने जस्तै बलात्कृत महिलालाई पुरुषदेखि घृणा लाग्ने वा डर लाग्ने आदि । यस्ता कारणले गर्दा व्यक्तिगत जीवनमा निकै असर परेको उनी बताउँछिन् ।
उनी भन्छिन् , ‘अहिलेको अवस्था हेर्दा खेरी आफ्नै परिवारबाट बलतकृत भएका व्यक्तिमा पीटियसटी बढी छ । यो कुरा परिवार वा समाजबाट छोपेर राखिएको हुन्छ । परिवार वा समाजबाट छोपेर राख्दैमा घटना कुनै पनि व्यक्तिको मनबाट छोपिने वा मेटिने हुँदैन । यसले बिस्तारै पिटियसटीको समस्या निम्याउन सक्छ । जसले गर्दा व्यक्तिले जीवनमा गर्नुपर्ने काम खुसी र आत्मविश्वासका साथ गर्न सक्दैन ।
यदि कसैको जीवनमा यस्ता समस्या देखा परेका छन् भने मानसिक रोग विशेषज्ञलाई भेटेर आफ्नो कुरा राख्नुपर्ने डा झाले सुझाव दिएकी छिन् । समयमै डाक्टरको सल्लाह लिएर अगाडी बढ्दा यसको सजिलै समाधान गर्न सकिन्छ ।
यसको उपचारमा विशेषगरी दुई वटा कुरा गर्न सकिन्छ । जसमा एउटा सल्लाह दिने र उपचार गर्ने कुरा पर्दछन् । यो दुवै उत्तिकै महत्वपूर्ण रहेको उनको भनाई छ ।
सल्लाह दिँदा कम्युनिटिक थेरापी गरिन्छ । जसमा कसरी पिटियसटीको समना कसरी गर्ने भन्ने कुरा सिकाइन्छ । उपचार वा मेडिकेशनमा उसको लक्षण तथा अवस्था अनुसार उसलाई मेडिकेशन दिने गरिन्छ ।
यसमा व्यक्तिको लिङ्ग, उसको काम गर्ने क्षेत्र, उसले दिउँसो काम गर्छ कि राति गर्छ भनेर हेरिन्छ । उसको परिवार कस्तो छ, उसले कति पढेको छ भनेर पनि हेरिन्छ । कति समयदेखि उसलाई समस्याले भेटेको हो भन्ने कुरा विचार गरिन्छ । जसकाकारण औषधि लिने समय लामो वा छोटो हुन सक्छ ।
यसकारण कुनैपनि पिटियसटीको समस्या वा लक्षण देखिएको छ भने मानसिक रोग विशेषज्ञकोमा जानुपर्छ । हाम्रो समाजमा भएका पिटियसतीका बिरामीलाई सबै मिलेर सहयोग गर्न उनले अनुरोध गरेकी छिन् । त्यस्तो गर्नाले उनीहरू यो समस्याबाट सजिलै बाहिर निस्किन सकुन् ।