

काठमाडौं : विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन मनाइने विश्व स्वास्थ्य दिवस यस वर्ष नेपालमा ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नाराका साथ मनाइँदैछ ।
स्वास्थ्य प्रवद्र्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकाहरूलाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनको ७५ औँ वार्षिकोत्सव रहेकोले पनि यो वर्षको विश्व स्वास्थ्य दिवस विशेष रहेको छ । सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएको पाँच वर्षपछि सन् १९५३ मा नेपाल सदस्य राष्ट्र बनेको थियो ।
जनस्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका सफलताहरूको स्मरण गर्नुको साथै वर्तमान र भविष्यका स्वास्थ्य चुनौतीहरूको सम्बोधन गर्न स्वास्थ्य प्रणालीलाई अझै सुदृढ बनाउने अवसरको रुपमा पनि यस दिवसलाई लिइएको छ ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रत्याभुत गरेको छ । सबै नागरिकमा स्वच्छ खानेपानी तथा सरसफाई, खाद्य सुरक्षा, स्वच्छ र स्वस्थ वातावरण सुनिश्चित गर्दै सर्वसुलभ स्वास्थ्य सेवामा सबैको समान पहुँच पु¥याउन नेपालले निरन्तर काम गर्दै आइरहेको छ ।
दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजनीतिक नेतृत्व, नागरिक समाज, पत्रकार, सरोकारवालाहरु, स्वास्थ्यकर्मीहरु तथा आमसमुदायहरुलाई सबै नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्नको लागि एकजुट भई आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेको छ ।


