
काठमाडौं, ३० मंसिर । कान्तिपुर डेन्टल कलेज एण्ड टिचिंग हस्पिटलले स्थापनाको १६ वर्षमा १० लाख मानिसलाई दन्त चिकित्सा सेवा प्रदान गरेको छ ।
केडिसीको १६ औं वार्षिकोत्सवका अवसरमा बसुन्धारास्थित कलेज तथा अस्पतालमा शनिवार आयोजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले कलेजले हासिल गरेको उपलब्धिका बारेमा जानकारी दिए । डा. श्रेष्ठका अनुसार अस्पतालले स्थापनाको १६ वर्षको अवधिमा १० लाखभन्दा धेरै मानिसलाई दन्तचिकित्सा सेवा दिएको छ ।
सन् २००७ डिसेम्बर १६ मा दन्तचिकित्सा तर्फको बीडीएस अध्यापनसहित सुरु भएको कलेज तथा अस्पतालले अस्पतालबाट लाखौं बिरामीलाई सेवा दिएको र अस्पतालबाहिर लाखौं मानिस र पेशाकर्मीलाई अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
साथै कलेजले दन्तचिकित्साका साथै गत १० वर्षदेखि केडिसी जनरल अस्पतालसमेत सञ्चालन गरेर दन्तचिकित्साका अलावा अन्य विधाको पनि विशेषज्ञ सेवा दिइरहेको छ । अस्पतालले दन्तचिकित्सा साथै नेपालमा पहिलोपटक डेन्टल हाइजेनिस्टको अध्यापन पनि गराइरहेको छ भने यसैवर्षदेखि बीएस्सी ल्याबमेडको अध्यापन पनि सुरु गरेको छ भने एमपीएच पब्लिक हेल्थको कार्यक्रमपनि सुरु गर्न विश्वविद्यालयमा निवेदन दिएको छ ।
बीडीएसको शुल्क कम भएको गुनासो
वार्षिकोत्सवका अवसरमा कलेजका अध्यक्ष श्रेष्ठले एमबीबीएस र बीडीएस अध्ययनको मापदण्ड एउटै भएर पनि डेन्टलतर्फको शुल्क एमबीबीएसको भन्दा झण्डै आधा रहेको भन्दै यसले कलेजहरुलाई अफ्ठ्यारो परेको बताए ।
डा. श्रेष्ठले बीडीएसको शुल्कपनि एमबीबीएसको सरह हुनुपर्ने धारणा राखे । कार्यक्रममा सहभागी भएका नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुषालले पनि डा. श्रेष्ठको माग जायज भएको बताए । एमबीबीएस र बीडीएसको शैक्षिक मापदण्ड र अध्ययन वर्ष उत्तिनै भएपनि शुल्कमा भिन्नता हुने कुरा मनासिब नभएको डा. भुसालको भनाइ छ । बीडीएसको शुल्क समायोजन गर्न आफ्नो ठाउँबाट पहल गर्ने उनको भनाइ छ ।

कलेजको मागलाई काठमाडौं विश्वविद्यालयका डीन डा. मनोज हुमागाईंले पनि सकरात्मक भएको भन्दै त्यसको सम्बोधनका लागि प्रयाज गर्ने विश्वास दिलाए ।
१० लाखको अक्षयकोष स्थापना गरिने
साथै, वार्षिकोत्सवका अवसरमा कलेजले काठमाडौं विश्वविद्यालयका डेन्टल कलेजबाट अध्ययन गरेर विभिन्न विधामा स्वर्णपदक पाउने विद्यार्थीलाई पुरस्कृत गर्न १० लाख बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ । कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले शुल्क र सिटका आधारमा डेन्टल कलेजहरु मर्कामा परेपनि दन्तचिकित्सा र चिकित्सा शिक्षालाई प्रवर्धन गर्दै उत्कृष्ट विद्यार्थीलाई हौसला प्रदान गर्न अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको बताए ।

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुषाल, रजिष्ट्रार डा. कृष्ण अधिकारी, काठमाडौं विश्वविद्यालयका डीन डा. मनोज हुमागाईं, पूर्व डीन नरेन्द्र बहादुर राणा, कान्तिपुर डेन्टल कलेजका प्राचार्य डा. रवीन्द्रमान श्रेष्ठ लगायतले कलेजले पुर्याएको योगदानका बारेमा चर्चा गरे ।

कलेजले वार्षिकोत्सवका अवसरमा उत्कृष्ठ विद्यार्थीहरुका साथै संस्थामा विगत १५ र १० वर्षदेखि कार्यरत रहेका कर्मचारीलाई सम्मान पनि गरेको छ ।