काठमाडौँ, १ मंसिर ।बसुन्धरास्थि केडीसी जनरल अस्पतालले निःशुल्क परीक्षणका कार्यक्रम सहित महिनाव्यापी विश्व मधुमेह दिवस मनाउने भएको छ ।
शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै अस्पतालका अध्यक्ष अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले मधुमेहको जाँचका लागि मंसिर महिनाभर निशुल्क रगत जाँच गर्ने र सोही अवधीभर मधुमेह भएका बिरामीहरुको निःशुल्क आँखा जाँच गर्ने जानकारी दिए ।
‘मधुमेहलाई बास्तवमा ‘साइलेन्ट किलर’ मानिन्छ, कतिपयलाई लक्षण विना नै पनि गम्भीर अवस्थामा पुर्याएको छ । आँखाको ज्योति गुमाई अन्धोपन ल्याउने कारक मध्ये मधुमेह पनि एक हो । त्यसैले यसविरुद्ध व्यक्तिहरु सचेत हुन जरुरी छ । आहार विहार, खानपान, र जीवन शैलीलाई स्वस्थकर बनाउनु आवश्यक छ साथै नियमित रुपमा मधुमेहको परीक्षण पनि गर्न जरुरी छ । हामीले यहि कुरालाई मध्य नजर गर्दै केडीसी अस्पतालमा निशुल्क सचेतना तथा परीक्षण शिविरको आयोजना गरेका हौँ । एक महिनासम्म यो शिविर चलाउँदै छौँ । आम सर्वसाधारणले यो अवसर खेरा नफाल्नु होला, आफ्नो स्वास्थ्यका लागि थोरै भए पनि समय छुट्याउनु होला, केडीसी अस्पताल आएर निशुल्क जाँचको लाभ लिनु होला,’ डा. श्रेष्ठले भने ।
कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रिन्सिपल प्राडा रविन्द्रमान श्रेष्ठले खानपान र जीवनशैलीका कारण मधुमेह रोग बढेकाले यसको न्युनिकरणका लागि सचेतना र नियमित नियमित परीक्षण जरुरी भएको बताए ।
‘दाँत सफा देखिन्छ, तर गिजाले छाड्दै गएको छ, मुख दाँत सफा छ तर गन्हाउँछ भने पनि मधुमेह अर्थात सुगर हुन सक्छ । यसले आँखामा समस्या ल्याउन सक्छ, मिर्गौलामा समस्या ल्याउन सक्छ, उच्च रक्तचाप हुनसक्छ । त्यसैले यसबारेमा सचेत हुनु आवश्यक छ,’ उनले भने ।
नेत्र विशेषज्ञ डा. ज्योति बास्तोला पौडेलले मधुमेहको अवस्था हाम्रो जस्तो मुलुकमा भयावह बन्दै गइरहेको भन्दै यसलाई नियन्त्रणका लागि आवश्यक कदम चाल्नु पर्ने बताईन् ।
अन्तर्राष्ट्रिय मधुमेह संघले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार प्रत्येक १० मध्ये १ मानिसलाई मधुमेह हुन सक्छ भने कम आयश्रोत भएका राष्ट्रहरुमा प्रत्येक ४ मध्ये ३ मानिसलाई मधुमेह हुनसक्दछ । विश्वभरका २० देखी ७९ वर्ष उमेर समुहका १०.५५ वयस्क जनसंंख्यामा मधुमेह हुनसक्ने भए पनि त्यस मध्येको आधा जनसंख्या मात्र यसबारे जानकार रहेको पाईन्छ ।
डा पौडेलले मधुमेह भएका मध्ये ९० प्रतिशत मानिसलाई टाइप टू मधुमेह हुने गरेको र त्यसमा सामाजिक–आर्थिक, जनसंख्या, वातावरण र वंशानुगत जस्ता विषयको प्रभाव पर्ने गरेको बताइन् । उनले मधुमेह भएका प्रत्येक ३ मध्ये १ मानिसलाई डायबेटिक रेटिनोप्याथी देखा पर्ने गरेको भन्दै यसबाट जोगिनका लागि मधुमेह भएका व्यक्तिले कम्तिमा ६ महिनाको एक पटक आँखा जाँच गरी विशेषज्ञको परामर्श लिनु पर्ने सुझाव दिईन् ।
मधुमेहका असरहरुमा अन्धोपन, हृदय रोग, मिर्गौला रोग, खुट्टा काट्नुपर्ने सम्मको अवस्था र मधुमेह अनियन्त्रित भएको खण्डमा असामयिक निधन समेत हुन सक्दछ । त्यस्तै, गर्भावस्थामा रहँदा प्रत्येक ६ जनामध्ये १ जनामा मधुमेह प्रभाव देखिएको संघले जनाएको छ ।
कार्यक्रममा केडीसी जनरल अस्पताल आईकेयर सेन्टरका बी अप्टोमेट्रिस रोहित यादवले मधुमेह र यसले आँखामा पार्ने असर ९डायवेटिक रेटिनोप्याथी०बारेमा बताएका थिए । उनले मंसिर महिना भर केडीसी आईकेयर सेन्टरमा मधुमेह भएका व्यक्तिको निशुल्क आँखा जाँच हुने बताए ।