काठमाडौँ: स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्ने उद्देश्यले मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा स्थापित ‘डा. ओम फाउन्डेसन’को शुभारम्भ गरिएको छ। बिहीबार महोत्तरी जिल्ला बलवा नगरपालिका–१० धमौरामा मुटुरोग सम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै फाउन्डेसनको औपचारिक सुरुवात गरिएको हो।
मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको प्रमुख आतित्थ्यता तथा बलवा नगरपालिकाका मेयर राम विजय महतोको सभापतित्व सम्पन्न उक्त शिविरमा ४२८ जनाको मुटुरोग सम्बन्धी (इसीजी), इको, ब्लड सुगर, लिपिड लगायतका चेकजाँच गरिएको थियो । जसमध्ये इको २४२ जना, इसीजी ३२५ जना, सुगर ३४० जनाको जाँच गर्नुका साथै ४ सय जनाभन्दा बढी बिरामीलाई औषधी समेत प्रदान गरिएको थियो।
शिविरमा स्वास्थ्य सचेतनाको लागि विभिन्न प्रकारका ब्रोसर, पमफ्लेट पनि बितारण गर्नुका साथै खानपिन र जीवनशैलीको बारेमा परामर्श प्रदान गरिएको थियो। शिविर सञ्चालनकै क्रममा डा। ओम मूर्ति अनिललाई बलवा नगरपालिकाले अभिनन्दनसमेत गरेको थियो।