

काठमाडौँ, २४ कात्तिक । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र अमेरिकाको युनिभर्सिटी अफ इलनोइ सिकागोबीच सम्झौता भएको छ ।
युनिभर्सिटीको रगत रोग र क्यान्सर विभागका प्रमुख प्राडा दमियानो रोनदेली नेपाल आएको अवसरमा शुुक्रवार यी संस्थाबीच द्विपक्षीय सम्झाता सम्पन्न भएको हो । सम्झौता मुख्य चार वटा विषयमा केन्द्रित रहेको न्याम्सका उपकुलपति प्रा.डा भुपेन्द्र बस्नेतले बताए ।
रगतरोग विशेषज्ञ डा विशेष पौडेलको आग्रहपछि दुई संस्थाबीच छलफल भएको बताउँदै उनले सम्झौतासँगै न्याम्सको वीर अस्पतालमा रगत रोग सेवा विस्तार हुनुका साथै बोनम्यारो ट्रान्सप्लान्ट सेवा सुरु गर्ने काम पनि अगाडि बढ्ने सुनाए ।
‘नेपालभर रगत रोग विशेषज्ञको कमी हुन नदिन र रगतसम्बन्धी रोगको उपचार सेवालाई चुस्त दुरुस्त बनाउँदै सेवा विस्तार गर्न यो सम्झताले ठूलो सहयोग गर्नेछ’, सुनाउँदै डा बस्नेतले भने, ‘यसका साथै रगत रोगका विषयमा अध्ययन गर्ने चिकित्सकहरुले युनिभर्सिटी अफ इलनोइ सिकागोका प्रोफेसरहरुबाट थप ज्ञान र सिप सिक्न पाउने छन्।’
डा बस्नेतका अनुसार अनुसन्धानमा सहकार्य र सहयोग, मेडिकल एजुकेशन विभागको विस्तार, संयुक्त फेलोसिप कार्यक्रम र फ्याकल्टी एक्सचेन्ज गरी चार वटा विषयमा सम्झौता भएको छ।
यसअघि मिनभवनस्थित निजामती कर्मचारी अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट सेवा सञ्चालन गर्न र अगाडि बढाउन प्राडा रोनदेली महत्वपूर्ण भूमिका खेलेका थिए।
सम्झौतामा प्राडा रोनदेली र नेपालका तर्फबाट न्याम्सका उपकुलपति प्राडा बस्नेतसहित न्याम्सका रेक्टार प्राडा लोचन कार्की, डीन डा अशेष ढुंगाना, एसिस्टेन्ट डीन डा पवनकुमार हमाल, एसिस्टेन्ट डीन डा विकास अधकारी र प्राडा विशेष पौडेलको हस्ताक्षर छ।