काठमाडौं, २९ असोज । ह्याम्स (हस्पिटल अफ एडभान्स मेडिसिन एण्ड सर्जरी) अस्पतालले पब्लिक लिमिटेडमा गएर सर्वसाधारणका लागि शेयर निश्कासन गर्ने निर्णय गरेको छ ।
केही वर्षयता बुद्धनगरबाट मण्डिखाटारमा सरेर नयाँ व्यवस्थापनसहित अत्धुनिक उपकरण र सेवासहितको उच्चस्तरीय अस्पतालका रुपमा चर्चा कमाइरहेको ह्याम्स अस्पतालले प्राइभेटबाट पब्लिक कम्पनीमा गएर धितोपत्र बोर्डमा सूचिकृत हुने निर्णय गरेको हो ।
अस्पतालको गत असोज २६ गते सम्पन्न साधारण सभाले कम्पनीलाई पब्लिक लिमिटेडमा लैजाने र चुक्ता पुँजीको १५ प्रतिशत शेयर सर्वसाधारणलाई बाँड्ने निर्णय भएको अस्पतालका अध्यक्ष आरएस भण्डारीले स्वास्थ्य डायरीलाई बताए । उनले भने, ‘हामीले शेयर निश्काषनका गर्नका लागि धितोपत्र बोर्डले तय गरेका मापदण्ड पुरा गरेकाले त्यो प्रकृया थाल्ने निर्णय गरेका हौं ।’
कम्पनीमा हाल २२ जना संस्थापक शेयरधनी रहेका छन् । अस्पतालको हालको चुक्ता पुँजी ६५ करोडको रहेको छ । त्यसको १५ प्रतिशत करिब ९ करोडको शेयर निश्कासन गर्ने भण्डारीले बताए । कम्पनीलाई पब्लिक लिमिटेडमा रुपान्तरण गरेर शेयर निश्काषन गर्नका लागि ह्याम्सले मुक्तिनाथ क्यापिटलसँग सम्झौता गरेको छ ।
यसअघि नर्भिक अस्पतालले पनि पब्लिक लिमिटेडमा जाने निर्णय गरेपनि धितोपत्र बोर्डमा अझै सूचिकृत भएको छैन । स्टार अस्पताल पब्लिक लिमिटेड भएपनि आइपिओ भने जारी गरेको छैन ।
आइपिओ निश्कासन गर्न उक्त कम्पनी पब्लिक लिमिटेड हुनुपर्ने, पछिल्लो तीनवर्ष लगातार नाफामा देखिनुपर्ने लगायतको मापदण्ड रहेको छ ।