काठमाडौं । नसर्ने रोग भनेको एक व्यक्तिबाट अर्को व्यक्तिमा सोझै नसर्ने मानिसको व्यक्तिगत आनीबानी तथा जीवनशैली, वंशाणुगत र वातावरणीय प्रभावका कारणबाट पैदा हुने रोगहरु हुन् । जस्तै, धेरैजसो मुटुरोगहरु, दीर्घ स्वासप्रश्वास रोग (दम), क्यान्सर, मधुमेह, मिर्गौला सम्बन्धी जीर्ण रोग, मानसिक रोग आदि । हाल विश्वमा नसर्ने रोगहरुको प्रकोप बढिरहेको छ । हाम्रो देशमा पनि जम्मा बिरामीको ६० प्रतिशतभन्दा बढी नसर्ने रोगहरु लागेर बिरामी परेको र यसकै कारणले बर्सेनी धेरै मानिसहरुले अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था छ । प्रमुख नसर्ने रोगहरुमा मुटुरोग, दीर्घ श्वासप्रश्वास रोग, क्यान्सर र मधुमेह पर्दछन् । तल उल्लेख भए अनुसारका स्वस्थकर जीवनशैली र खानपानको माध्यमबाट यी नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रण गर्नसकिन्छ ।
१. धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन नगर्ने
मुटुरोग, दीर्घ श्वाशप्रश्वास रोग, क्यान्सर तथा मधुमेह रोग लाग्ने प्रमुख कारक तत्व चुरोट, बिडी, हुक्का, खैनी, सूर्ति, गुट्का जस्ता धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन हो । धुम्रपान नगर्नेहरुलाई अरुले गरेको धुम्रपानको धुवाँले पनि उत्तिकै हानी गर्दछ । त्यसैले धुम्रपानबाट पनि टाढै बस्ने गरेमा नसर्ने रोगहरु लाग्नबाट बच्न सकिन्छ ।
२. शारीरिक रुपमा सक्रिय रहने
हिँडडुल गर्ने, दौडिने, साइकल चलाउने, घरायसी कामकाजमा सक्रिय रहने, पौडी खेल्ने जस्ता शारीरिक कसरत, योग तथा व्यायाम नियमित रुपमा गर्दा नसर्ने रोगहरु लाग्ने जोखिम कम हुन्छ । कसरत तथा व्यायाम गर्दा हल्का पसिना आउने गरी दैनिक कम्तिमा ३० मिनेटसम्म गर्नुपर्दछ । नियमित रुप्मा शारीरिक कसरत तथा व्यायाम गर्नाले शरीरको तौल नियन्त्रण गरी मोटोपनाबाट समेत बच्न सकिन्छ । मोटोपना भएको मानिसलाई नसर्ने रोगहरु लाग्ने जोखिम बढी हुन्छ ।
३. मदिरा सेवन नगर्ने
जाँ, रक्सी, वियर, वाइन जस्ता मदिराको सेवनबाट हृदयघात, कलेजो सम्बन्धी रोग, क्यानसर, पेट तथा आन्द्रामा घाउ हुने र मानसिक असन्तुलन जस्ता समस्याहरु हुनसक्छन् । मदिराको सेवाले घरेलु हिंसा, अपराध र दुर्घटना पनि बढाउँछ । त्यसैले मदिरा सेवन नगरेमा नसर्ने रोगहरुको जोखिमबाट बच्न तथा घरेलु हिंसा र दुर्घटना न्युनिकरण गर्न सकिन्छ ।
४. नुन, चिनी र चिल्लो पदार्थको सेवन कम गर्ने
नुनिलो, गुलियो र चिल्लो खानाले क्यान्सर, मुटुरोग र मधुमेह जस्ता नसर्ने रोगहरु हुने जोखिमलाई बढाउँछ । खानामा नुनको प्रयोग कम गर्नुपर्छ । नुन दैनिक ५ ग्रामभन्दा कम खानुपर्दछ । ध्यू, तेल जस्ता चिल्लो पदार्थ र गुलियो खानेकुरा कम खानु पर्दछ ।
५. सन्तुलित खाना, फलफूल र सागसब्जी पर्याप्त मात्रामा खाने
नसर्ने रोगहरुको जोखिमबाट बच्नको लागि हाम्रो खानेकुरा स्वस्थकर र सन्तुलित हुनुपर्दछ । अन्न, दाल, गेडागुडी, दुध, दही, माछा तथा बासो नभएको मासु, अण्डा, हरियो सागपात तथा तरकारी र फलफूल सन्तुलित रुपमा खानु पर्दछ । मौसमी ताजा फलफूल र सागसब्जी दिनहुँ ५ पटकसम्म (दैनिक कम्तिमा ४०० ग्राम) खानुपर्दछ ।
बासी, सडेगलेका र पत्रु खाना (जंक फूड)ले नसर्ने रोगको जोखिम बढ्ने भएको हुँदा यस्तो अस्वस्थकर खानेकुराहरु खानु हुँदैन ।
६. मानसिक तनावको व्यवस्थापन गर्ने र खुशी रहने
घर तथा कार्यालयमा तनावमुक्त वातावरण सृजना गर्ने, हरेक दिन मन खोलेर हाँस्ने, ध्यान तथा योग गर्ने, परिवार तथा साथीभाईसँग घुमफिर तथा रमाईलो गर्ने गर्दा तनावको व्यवस्थापन भई मानसिक समस्या लगायत नसर्ने रोगको जोमिख कम हुन सक्छ ।
७. उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिम तत्वहरुलाई व्यवस्थापन गर्ने
उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्नुपर्दछ । रगतमा चिनीको मात्रा बढेमा (मधुमेह भएमा) नियमित जाँ र उपचार गर्नुपर्दछ । यसो गर्दा यी नसर्ने रोगहरुको नियन्त्रण भई सामान्य जीवन बिताउन सकिन्छ ।
८. धुवाँ, धुलो र वायु प्रदुषणबाट बच्ने
धुवाँ, धुलो र वायु प्रदुषणको कारणले दीर्घ श्वासप्रश्वास रोग(दम) क्यान्सर र मस्तिष्कघात जस्ता नसर्ने रोगहरुको जोखिम बढ्ने भएकाले धुवाँ, धुलोबाट बच्नुपर्दछ । धरभित्र आगो बाल्नको लागि दाउरा, गइठा जस्ता धुवाँ आउने ईन्धनको पैयोृग गर्नुभन्दा ग्याँ चुल्वा वा धुवाँरहित चुल्हो प्रयोग गर्नुपर्दछ । घर तथा भान्सा कोठामा दोहोरो हावा खेल्नेगरि भेन्टिलेसनको राम्रो प्रबन्ध हुनुपर्दछ । प्लाष्टिक लगायतका फोहोरजन्य वस्तुहरुलाई जलाउँदा वातावरण प्रदुषण हुने भएकाले जलाउनु भन्दा गाडेर वा अन्य उचित तरिकाले विसर्जन गर्नुपर्दछ । धुलो र प्रदुषित वातावरणमा हिडडुल तथा कामकाज गर्दा नाक र मुख ढाक्ने गरि गुणस्तरीय मास्क लगाउनुपर्दछ ।