राप्ती २१ असोज । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मेडिकल अधिकृतका लागि दुई पटक विज्ञापन गर्दा पनि कसैले आवेदन दिएका छैनन् ।
करारमा मेडिकल अधिकृत नियुक्ति गर्नका लागि आबेदन आह्वान गर्दा पनि कुनै आवेदन नपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज जानकारी दिए । चार जनाको लागि विज्ञापन गर्दा पनि आवेदन नपर्दा अहिले विद्यमान सीमित चिकित्सकले सेवा दिनुपरेको उनको भनाई छ ।
पचास शैयाको उक्त अस्पतालमा एकसय ५०जनाका लागि सेवा सञ्चालन हुँदै आएकामा अब दुई सय शैया बनाउनका लागि प्र्रदेश सरकारले कसरत थालेको छ । डायोलाइसिस तथा प्रसुतिलगायत सेवामा अझै पनि जनशक्ति अभाव छ । जनशक्ति अभावकै कारण आईसियु सेवा सञ्चालन गर्न सकिएको छैन । आईसियुका लागि करिब थप १० बेड चाहिन्छ ।
यसैगरी छ मेडिकल अधिकृत, १९ नर्सिङ, छ कार्यालय सहयोगी पनि चाहिने निमित्त मेसु अधिकारीले बताए । उपकरण भएपनि जनशक्ति अभाबकै कारण उक्त सेवा सञ्चालन गर्न नसकिएको उनको गुनासो थियो । दैनिक एक सय बिरामीलाई धान्न सक्ने मात्रै जनशिक्ति हुँदा पनि दैनिक छ सय विरामी आउने गरेका उक्त अस्पतालमा हाल कन्सलटेन्ट १४, मेडिकल अफिसर २५, स्टाफ नर्स ६८ जना कार्यरत छन् ।
प्रदेशअन्तर्गत रहेकाले यो अस्पताललाई आगामी मन्त्रिपरिषद्को बैठकबाट दुईसय शैयामा पुर्याउन प्रयास भइरहेको प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए ।