

काठमाडौँ – ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज नेपालमा पनि अन्तर्राष्ट्रिय योग दिवस विविध जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ।
हरेक वर्ष जुन २१ तारिखमा मनाइने अन्तर्राष्ट्रिय योग दिवस संयुक्त राष्ट्रसङ्घको महासभाको सन् २०१४ को निर्णयअनुसार सन् २०१५ जुन २१ देखि विश्वभर सुरु गरिएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योगलाई विश्वव्यापी रूपमा मनाउनुपर्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन जनाएपछि युरोपियन युनियनलगायत धेरै राष्ट्रहरूले समर्थन गरेका थिए। छोटो समयमै १७७ देशले समर्थन जनाउँदै यो दिवस संयुक्त राष्ट्रसङ्घबाट अनुमोदन पाएको थियो, जुन एक कीर्तिमानका रूपमा समेत उल्लेख गरिएको छ।
सन् २०१६ देखि प्रत्येक वर्ष जुन २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइँदै आएको छ।
नेपालमा भने वि.सं. २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण सुरु हुने दिनलाई आधार मानेर योग दिवस मनाउन थालिएको इतिहास छ। पछि डा. हरिप्रसाद पोखरेलको सक्रियतामा विभिन्न योगसम्बन्धी संस्थाहरूको सहभागितामा यसलाई थप संस्थागत गरिएको थियो।
योगलाई प्राचीन कालदेखि नै हिमालय क्षेत्रका ऋषिमुनिहरूले अध्ययन, अभ्यास र अनुसन्धानमार्फत विकसित गरेको मानिन्छ। तर समयक्रममा नेपालमै यसको अभ्यास केही ओझेलमा परेको थियो।
हाल नेपाल संस्कृत विश्वविद्यालयमा योग तथा प्राकृतिक चिकित्साको छ महिनाको अध्ययन कार्यक्रम सञ्चालन हुँदै आएको छ भने त्रिभुवन विश्वविद्यालयअन्तर्गत संस्कृत केन्द्रीय विभागमा पनि योग विषयको अध्यापन सुरु भइसकेको छ।
प्राचीन वैदिक परम्परामा योग, ध्यान र आयुर्वेदलाई मानसिक शान्ति, स्थिरता र स्वास्थ्य प्राप्तिको प्रमुख माध्यमका रूपमा लिइन्थ्यो। आज पनि योगलाई शारीरिक र मानसिक स्वास्थ्य सुदृढ गर्ने प्रभावकारी अभ्यासका रूपमा विश्वभर स्वीकार गरिएको छ।


