काठमाडौं, १५ जेठ । सरकारले स्वास्थ्य तथा जनसंख्याका लागि ८३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन गरेका हुन् ।
सरकारले अघिल्लो आर्थिक वर्षको तुलनमा यसवर्ष करिब १९ अर्ब कम बजेट विनियोजन गरेका हुन् । अघिल्लो आर्थिकवर्षमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरिएकोमा यो वर्ष बजेट घटेको हो । पछिल्ला वर्षमाहरुमा स्वास्थ्यका प्राथमिकता बढ्दैगएपनि बजेटमा भने कटौटि भइरहेको छ । सरकारले आर्थिकवर्ष २०७८।७९ मा १ खर्ब ३५ अर्ब बजेट पाएकोमा अघिल्लो वर्ष र यो वर्षसमेत बजेटमा कटौती भएको हो ।
अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दै स्वास्थ्यका विभिन्न कार्यक्रम र योजनाहरु सुनाएका छन् । जसमध्ये धेरैजसो चलिरहेकै कार्यक्रम र दायित्वलाई निरन्तरता दिइएको छ भने कतिपय नयाँ शीर्षकमा पनि बजेट राखिएको छ ।
यस्ता छन् यो वर्षको बजेटमा समेटिएका स्वास्थ्यका विषयहरु:
- गुणस्तरीय स्वास्थ्य उपचारः जनताको अधिकार भन्ने नाराका साथ आधारभूत स्वास्थ्य सेवालाई सरल, सुलभ र गुणस्तरीय बनाइने छ ।
- विशिष्टिकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाइनेछ ।
- स्वास्थ्य शिक्षा र जनचेतनाका माध्यमबाट नागरिकको जीवनशैली प्रवद्र्धन गरिनेछ ।
- कोभिड १९ लगायत संक्रामक रोगको रोकथाम, नियन्त्रण तथा उपचारलाई प्राथमिकतामा राखेको छु । महामारी विरुद्ध जनचेतना अभिवृद्धि, स्वास्थ्य मापदण्डको परिपालना, खोप सेवाको सुनिश्चितता, र उपचार सेवालाई समन्वयात्मक रुपमा कार्यान्वयन गर्न बजेटको व्यवस्था गरेको छु ।
- डेंगु रोग रोकथाम र नियन्त्रणका लागि पूर्व मनसुन, मनसून र मनसूनपश्चात डेंगु रोग सार्ने लामखुट्टेको लार्भा र बासस्थान खोज र नष्ट गर अभियान सञ्चालन गरिनेछ ।
- डेंगु, औंलो, कालाजार, हात्तिपाइले लगायत अन्य मौसमी र कीटजन्य रोगको रोकथाम गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३०० शैयामा विस्तार गरिनेछ । पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निर्माणाधिन प्रादेशिक सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न गरि सञ्चालनमा ल्याइनेछ । सरुवा रोग अस्पताल निर्माण र विस्तारका लागि ४६ करोड विनियोजन गरेको छु ।
- क्षयरोगमुक्त नेपाल अभियान अन्तर्गत रोगीहरुको पहिचान गर्ने र निःशुल्क औषधि उपलब्ध गराउन १ अर्ब १५ करोड विनियोजन गरेको छु ।
- मुलकुभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट ९८ थरि औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको छु । यस कार्यक्रम अन्तर्गत स्वदेशमा नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइनेछ ।
- बहुसंख्यक जनताले स्वास्थ्य सेवा पाउने गरि पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइनेछ ।
- हाल ३ सय २२ स्थानीय तहमा निर्माणाधिन ५, १० र १५ शैयाका अस्पताल निर्माण कार्यका लागि रु ८ अर्ब विनियोजन गरेको छु ।
- आगामी वर्षसम्पन्न हुने १ सय अस्पतालमा स्वास्थ्य उपकरण खरिद गर्न ८२ करोड विनियोजन गरेको छु ।
मातृमृत्युदर र नवजात शिशु मृत्युदर बढि भएका स्थानमा लक्षित गरि आमा र नवजात शिशु सुरक्षाका विशेष कार्यक्रम सञ्चालन गरिनेछ । मातृ तथा नवजात शिशु सुरक्षा कार्यक्रमलाई निरन्तरता दिएको छु ।
क्यान्सर, मेरुदण्ड, पक्षघात र मिर्गौला डायलासिस गराइरहेका बिरामीलाई औषधि उपचार खर्चबापत दिइँदै आएको मासिक रु ५ हजारलाई निरन्तरता दिएको छु । - विपन्न नागरिकलाई मुटुरोग, मिर्गौलारोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिक्कलसेल एनिमियाको उपचारमा दिइँदै आएको अनुदानलाई निरन्तरता दिन २ अर्ब ५० करोड विनियोजन गरेको छु ।
- सबै संघीय अस्पतालहरुबाट मिर्गौला प्रत्यारोपण सेवा प्रदान गर्ने व्यवस्था मिलाइने छ । महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई क्रमशः विस्तार गरिनेछ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्षका बालिका लक्षित एचपीभी खोप कार्यक्रमलाई विस्तार गरिनेछ ।
- सबै संघीय अस्पतालमा बाँझोपन, निःसन्तान उपचार सेवा क्रमशः विस्तार गरिनेछ ।
- शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गरिनेछ । शहीद गंगालाल हृदयरोग केन्द्रमा अत्याधुनिक ब्लड बैंक सञ्चालनमा ल्याउन बजेटको व्यवस्था गरेको छु ।
- भरतपुर क्यान्सर अस्पतालमा पेटस्क्यान मेशिन तथा साइक्लोटोन उत्पादन गर्ने मेशिन खरिद गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
- ज्येष्ठ नागरिकका लागि सरकारी अस्पतालहरुमा रहेको जेरियार्टिक वार्डलाई प्रभावकारी बनाइनेछ । वर्षेनी बढ्दै गएको बुढ्यौलीमा देखिने डिमेन्सिया र अल्जाइमर्स रोगको स्कृनिंग गरि नजिकको विशिष्टिकृत अस्पतालको समन्वयमा उपचारको व्यवस्था मिलाइनेछ ।
- एड्स तथा यौनरोग र कुष्ठरोग नियन्त्रण कार्यक्रमा निरन्तरता दिन रकम विनियोजन गरेको छु ।
- सबै नागरिकलाई न्यूनतम आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न हाल सञ्चालनमा रहेको स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिएको छु । सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिनेछ । स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमा कार्यक्रमका बीच दोहोरोपन नहुनेगरि चालु आर्थिकवर्ष भित्रै कार्यविधि तर्जुमा गरिनेछ । यस्ता सामाजिक सुरक्षा कार्यक्रमलाई क्रमशः स्वास्थ्य बीमा कार्यक्रमको दायरामा ल्याइनेछ । स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरि दिगो बनाइनेछ ।
- परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नवजात शिशुका लागि मिल्क बैंक स्थापना गरिनेछ ।
- बीपी कोइराला क्यान्सर अस्पताल, जीपी कोइराला राष्ट्रिय स्वास्प्रश्वास उपचार केन्द्र, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर क्यान्सर अस्पतालको आवश्यक पूर्वाधार विकास तथा उपकरणका लागि बजेटको व्यवस्था गरेको छु ।
- काठमाडौंको वीर अस्पतालमा रहेको वर्न युनिटलाई स्तरोन्नति गरि सुविधासम्पन्न वर्न सेन्टरको रुपमा विकास गर्न आवश्यक बजेट छुट्याएकोछु ।
- निजामती अस्पतालको स्तरोन्नति गरि सुपरस्पेश्यालिटी सहितको अस्पतालको रुपमा विकास गरिनेछ ।
- गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ । गेटा अस्पताललाई १ सय शैयाको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनलाई बजेटको व्यवस्था गरेको छु ।
- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा विस्तार गर्न भौतिक पूर्वाधार विकासका लागि बजेटको व्यवस्था गरेको छु ।
- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत दैलेखको आठबीस नगरपालिका राकममा १ सय शैयाको स्याटेलाइट अस्पताल स्थापना गर्ने प्रकृया अघि बढाइनेछ ।
- मानसिक रोग अस्पताल पाटनको क्षमता विस्तार गरिनेछ । सबै संघीय अस्पतालमा मानसिक रोगको लागि अन्तरंग सेवा सञ्चालन गरिनेछ ।
- राष्ट्रिय ट्रमा सेन्टरको क्षमता विकासका लागि बजेटको व्यवस्था गरेको छु । कैलालीको लम्की, रुपन्देहीको सालझण्डी, नवलपरासीको बर्दघाट, गैंडाकोट, धादिंगको बेलकुमारीमा नजिकको सरकारी स्वास्थ्य संस्थाको समन्वयमा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना गरि सञ्चालनमा ल्याइनेछ ।
- संघीय अस्पतालमा रहेका जनस्वास्थ्य प्रयोगशालाको स्तरोन्नति गरिनेछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायतका प्रयोगशालालाई भवन निर्माणका साथै उपकरण, परीक्षण किट्स, केमिकल, रिएजेन्ट लगायतका सामग्री खरिद गर्न बजेट छुट्याएको छु ।
- सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न सबै संघीय अस्पतालमा एक चिकित्सक, एक स्वास्थ्यकर्मी एक अस्पताल कार्यक्रम सञ्चालन गर्न २४ करोड विनियोजन गरेको छु ।
- आर्युवेदिक, होमियोप्याथिक, युनानी, अकुपञ्चर, आम्जी र प्राकृतिक चिकित्सा जस्ता वैकिल्पकि उपचार पद्धतिलाई प्रोत्साहन गरिनेछ ।
- बुढानिलकण्ठ राष्ट्रिय आयुर्वेद, पञ्चकर्म रोग सेवा केन्द्र भवन निर्माण कार्य सम्पन्न गर्न बजेट विनियोजन गरेको छु ।
- नागरिकलाई शारीरिक व्यायाम, आरोग्य र योग सेवाको विस्तार तथा स्वस्थ र सन्तुलित आहारमा जोड दिई स्वस्थ जीवनशैली अपनाउन अभिप्रेरित गरिनेछ । खुल्ला योग तथा व्यायामशाला निर्माण तथा उपकरण खरिदका लागि बजेट व्यवस्था गरेको छु ।
- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान लगायत सबै संघीय स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालन र व्यवस्थापनमा एकरुपता कायम गर्न एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन तर्जुमा गरिनेछ ।
- सबै संघीय अस्पताललाई विशिष्टकृत स्वास्थ्य सेवा प्रदान गर्न सक्नेगरि सुपरस्पेश्यालिटी सुविधासहितको शिक्षण अस्पतालको रुपमा विकास गर्दै लगिनेछ ।
- सरकारी छात्रवृत्तिमा एमडी, एमएस गरेका विशेषज्ञ चिकित्सकले निश्चित अवधिसम्म काठमाडौं उपत्यका बाहिरका सरकारी अस्पतालमा अनिवार्य रुपमा सेवा गर्नुपर्ने व्यवस्था गरिनेछ ।