काठमाडौं, १० जेठ । गत बैशााख २८ गते चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नर्स र सेवाग्राहीबीच भएको विवाद उत्कर्षमा पुगेको छ । समाजसेवामा खटेको भनिएकी चर्चित टिकटकर गिभीना मगर र नर्सबीच सुरु भएको विवादले राष्ट्रियस्तरमा तरंग ल्याएको हो ।
मगरको आश्रयमा उपचार गराइरहेकी एक क्यान्सर बिरामी बालिकाको उपचारमा नर्सहरुले लापर्वाही गरेको भन्दै मगरले प्रश्न उठाउँदा दुइपक्षबीच विवाद भएको थियो । मगरले बिरामीलाई ४ बजे औषधि दिएर रजिष्टरमा किन २ बजे लेखियो ? भनेर प्रश्न सोध्दा नर्सले दुव्र्यवहार गरेको मगरले बताएकी छिन् । सो विवाद पछि जिल्ला प्रशासन कार्यालयमा गएर टुंग्याइसक्दापनि आफुलाई नर्सका आफन्तले फोन गरेर धम्की दिएको उनको आरोप छ ।
उता अस्पताल प्रशासनको अनुमतिबिना भिडियो खिचेर टिकटकमा राखेको भन्दै मगरको चर्को आलोचना गरेका छन् । उनीहरुले नर्सहरुको पेशागत मर्यादा र सुरक्षाको ख्याल नगरि एकतर्फी रुपमा नर्सलाई बदनाम गराउन खोजेको भन्दै रिपोर्ट गरेपछि मगरको टिकटक एकाउण्ट ससपेण्ड भएको बताइएको छ ।
घटना सतहमा आएसँगै नर्सको पेशागत सुरक्षाको माग गर्दै राजधानीको माइतिघर मण्डलामा दुईदिन देखि नर्सहरु धर्नामा उत्रिएका छन् भने नर्सहरुको दुव्र्यवहार विरुद्ध सामाजिक सञ्जालमा मगरलाई सहानुभूति दिनेको पनि कमि छैन ।
साइबर क्राइम अन्तर्गत कार्वाही गर्न नर्सिङ्ग संघको माग
घटना छताछुल्ल भएसँगै नेपाल नर्सिङ्ग संघले विज्ञप्ति जारी गर्दै मगरलाई साइबर क्राइम अन्तर्गत मुद्दा चलाउन माग गरेको छ । कार्यक्षेत्रमा नर्सको सुरक्षा नभएको भन्दै संघले चिन्ता व्यक्त गरेको छ । साथै संघले पटकपटक माग गरेपनि सरकारले अस्पतालमा नर्स र बिरामीको अनुपात मिलाउने कार्य नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
यस्तो छ विज्ञप्ति