

सिन्धुली, १० जेठ । सिन्धुली अस्पतालमा उपचारको क्रममा गर्भवती महिलाको मृृत्यु भएपछि पीडित बिरामीपक्षले अस्पतालको लापर्वाहीमा ज्यान गएको भन्दै आन्दोलन गरेका छन् ।
उपचारको क्रममा जिल्लाको कमलामाई नगरपालिका ५ की गंगा गुरूङ श्रेष्ठको मृत्यु भएको हो । डाक्टरले गलत ओेैषधि दिँदा गर्भवती महिलाको मृत्यु भएको आरोप लगाउँदै आफन्त संघर्षमा उत्रिएका हुन् । मृतक महिलालाई सिन्धुली अस्पतालले थप उपचारका लागि वर्दिवास रिफर गरेसँगै उनको बाटोमै मृत्यु भएको हो ।
गर्भवती महिला उपचारको लागि मंगलबार बिहान १० बजे आफै हिडेर अस्पलाल आएको मृतकका श्रीमान लोकबहादुर श्रेष्ठले बताए । सिन्धुली अस्पतालका डाक्टरले गलत औषधि र ईन्जेक्सन लगाउँदा बिरामीको मृत्यु भएको बर्दिबासका चिकित्सकले बताएको श्रेष्ठको दावी छ ।
बिरामीको मृत्युपछि आक्रोशीत भएको भिडले मंगलबार राति अबेरसम्म शान्तिनगर चोक र अस्पतालको मुुल गेटलमा टायर बालेर आन्दोलन गरेका छन् । उनीहरुले उपचारमा लापर्वाही गर्ने चिकित्सकलाई कार्वाही र मृतकका आफन्तलाई उचित क्षतिपूर्तीको माग गरेका छन् ।