काठमाडौं, ७ जेठ । बागमती सरकारको स्वास्थ्य मन्त्रीमा उत्तम जोशी नियुक्त भएका छन् ।
आइतवार प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रिपरिषद्को विस्तार गर्दै जोशी सहित ६ जनालाई नयाँ मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त स्वास्थ्यमन्त्री जोशी चितवन २(ख) बाट निर्वाचित काँग्रेस सांसद हुन् ।
जोशीका अलावा मुख्यमन्त्री जमकट्टेलले कांग्रेसबाटै मसिना खड्का भण्डारीलाई वन तथा वातावरण मन्त्री, पुकार महर्जनलाई पर्यटन उद्योग तथा सहकारी र रामकृष्ण चित्रकारलाई विना विभागीय मन्त्री बनाएका छन् ।
यस्तै, प्रदेशको सत्तासाझेदार एकीकृत समाजवादीका लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्री र राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रीमा नियुक्त गरेका छन् ।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजै पद तथा गोपनीयताको शपथ खुवाएका छन्।