काठमाण्डौ, ६ जेठ । सबै निजी तथा सामुदायिक अस्पतालले कुल शैयाको १० प्रतिशत शैया गरिब, निमुखा र असहायलाई छुट्याएर निःशुल्क उपचार गर्नुपर्ने नियम पालना नगर्ने अस्पतालहरुको रोग नयाँ होइन ।
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ का अनुसार सबै अस्पतालले पालना गर्नुपर्ने यस नियम नियामक निकायको उदासिनताका कारण प्रभावकारी रुपमा कार्यान्वयन हुनसकेको छैन । गरिब विपन्नले मापदण्ड अनुसार उपचार सेवा नपाएको गुनासो बढिरहेका बेला काठमाडौं महानगरपालिकाले त्यस्ता संस्थालाई नियम पालना गर्न सूचना जारी गरेर सचेत गराएको छ ।
महानगरपालिकाको स्वास्थ्य विभागले जरुरी सूचना प्रकाशित गर्दै स्थानीय सरकार सञ्चालन एनेले स्थानीय तह भित्र रहेका स्वास्थ्य संस्थाको नियमन गर्ने दायित्व र अधिकार स्थानीय तहलाई दिएको स्मरण गराउँदै मापदण्ड पालना गर्न अस्पतालहरुलाई सूचित गरेको हो । मापदण्ड अनुसार निःशुल्क उपचार पाएका अस्पतालहरुले सेवा लिनेहरुको नामावली टाँस गर्न पनि महानगरपालिकाले निर्देशन दिएको छ ।
साथै महानगरले अस्पतालभित्र सेवाग्राही मैत्री सेवा प्रवाह गर्न, अस्पतालका कर्मचारी एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक प्रत्याभूत गर्न, अनावश्यक स्वास्थ्य जाँचको सिफारिस नगर्न एवं अस्पताल क्यान्टिनको खाद्य गुणस्तर कायम राख्नपनि अस्पतालहरुलाई सूचित गरेको छ । मापदण्ड अनुसार नियम पालना नगर्ने अस्पतालहरुलाई कार्वाही गर्ने चेतावनीपनि महानगरको स्वास्थ्य विभागले दिएको छ ।