काठमाडौं, ५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन कुमार बस्नेतले सरकारी स्वास्थ्य संस्थाका खरिद गरिने उपकरणमा अंकुश लगाउने जनाएका छन् ।
मन्त्रालय मातहतका सरकारी स्वास्थ्य संस्थामा कमिशनको लोभमा महंगा उपरकरण खरिद गरेपनि प्रयोगमा आउन नसकेको भन्दै चौतर्फी गुनासो र आरोपहरु बढिरहेका बेला मन्त्री बस्नेतले जथाभावी खरिदलाई रोक्ने जनाएका हुन् । विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिन जेनेभा जानुअघि शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले खरिद गरिएका र प्रयोगमा नआएका उपरकण स्वास्थ्य सेवा विभागमार्फत फिर्ता ल्याएर आवश्यक स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिने बताए । उनले हरेक अस्पताललाई आगामी दुईवर्षका लागि कार्ययोजना बनाएर पेश गर्न निर्देशन दिएको पनि बताए ।
सरकारी स्वास्थ्य संस्थाले उपलब्ध बेड वेभसाइटमा राख्नुपर्ने
पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले सबै सरकारी स्वास्थ्य संस्थालाई सो अस्पतालमा रहेको पुरा शैया, आइसियु, भ्यान्टिलेटरको संख्या, प्रयोगमा रहेको संख्या र खाली रहेको संख्याको तथ्यांक वेबसाइटमा राख्नपनि निर्देशन दिएका छन् । सरकारी अस्पतालमा बेड खाली हुँदापनि सेवाग्राहीले नपाउने र पहुँचवालाले मात्र बेड पाउनेभन्दै वेबसाइटमा तत्काल उपलब्ध शैयाका बारेमा तथ्यांक अध्यावधिक गर्ने व्यवस्था मिलाइने दावी गरे ।
मन्त्री बस्नेतले संघीय सरकार अन्तर्गतका अस्पतालमा रहेका कर्मचारीको डिजिटल तथ्यांक पेश गर्न पनि निर्देशन दिएका छन् । यस्तै मन्त्री बस्नेतले सबै सरकारी अस्पताललाई अनलाईनबाटै ओपिडी टिकल उपलब्ध गराउन निर्देशन दिएका छन् ।