काठमाडौं, २७ वैशाख । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अर्थतन्त्र धरासायी भएका बेला सूर्तिजन्य पदार्थमा कर बढाउनु उपयुक्त हुने बताएका छन् ।
सूर्तिजन्य पदार्थमा कर बढाएर विपन्न नागरिकको उपचारमा लगाउनुपर्ने मन्त्री बस्नेतको भनाइ छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अन्य देशको तुलनामा नेपालमा सूर्तिजन्य पदार्थमा अत्यन्तै न्यून कर भएकाले त्यसलाई बढाउनुपर्ने बताए ।
सूर्तिजन्य पदार्थमा कर बढाएमा सूर्तिजन्य पदार्थको प्रयोग पनि कम हुने भन्दै मन्त्री बस्नेतले विश्व स्वास्थ्य संगठनले ७५ प्रतिशत कर बढाउनुपर्ने सुझाव दिएकोले सूर्तिजन्य पदार्थमा कर बढाउन प्रकृया थालिने दावी गरे ।
समग्रमा स्वास्थ्यको बजेट सिलिङ ४० प्रतिशत घटेको बताउँदै उनले समग्रमा ६ प्रतिशत बजेट घटेको मन्त्री बस्नेतले बताए । मन्त्री बस्नेतले सरुवा रोगमा विदेशी संस्थाले पनि सहयोग गरेको बताउँदैं नसर्ने रोगको लागि नेपालले बजेटको व्यवस्था गर्नुपर्ने हुँदा सूर्तिजन्य पदार्थमा करवृद्धि गर्नुको विकल्प नरहेको बताए ।