२५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले ११ वैशाखमा सूचना निकाल्दै सरोकारवालााई भनेको थियो, १५ दिनभित्र पोलमा छोडिएका अनावश्यक र प्रयोगविहीन तार हटाउनू, नभए तार महानगरले आफैं तार हटाउने छ । तर, समयसीमा नसकिंदै महानगरभित्र तार व्यवस्थापन सुरु भएको छ ।
महानगरले दिएको चेतावनीका आधारमा इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकहरु आफैं तार व्यवस्थापनका लागि अग्रसर भएका छन् । यसअनुसार अब महानगरले चेतावनी दिएजस्तो तार काटेर हैन, तार बन्डलिङ (मूठो बनाएर) गरेर व्यवस्थापन हुनेछ । अब केबल टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरु, नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणले संयुक्त रुपमा तारको व्यवस्थापन गर्ने छन् ।
आइतबार सेवा प्रदायक कम्पनीहरु, सुरक्षा निकाय र महानगर प्रहरीसहित बैठक बसेर रुट छनोट गर्दै प्राथमिकीकरण गर्दै तार व्यवस्थापन गर्ने निर्णय गरेका थिए । सोमबार माइती घर मण्डलादेखि नयाँ बानेश्वरतर्फको सडकखण्ड र न्यूरोड गेटदेखि बसन्तपुरतर्फको सडक खण्डमा व्यवस्थापनको काम सुरु गरेको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।
माइतीघरतर्फ कामको नेतृत्व डिस होमका यादव तिमल्सिनाले र नयाँ सडकतर्फ कामको नेतृत्व वल्र्डलिङ्का सहदेव वरुवालले गरिरहेका छन् ।