काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले सरकारसँग भएको सहमतिविपरीत छानबिन समितिको कार्यक्षेत्र निर्धारण गरिएको भन्दै तत्काल सच्याउन माग गरेका छन्।
२५औँ सत्याग्रहका क्रममा गत कात्तिक २१ गते सरकारसँग भएको सहमति कार्यान्वयनमा सरकारले ढिलाइ गरेको र सहमतिको मर्मविपरीत समिति गठन गरेको भन्दै उनले आपत्ति जनाएका हुन्।
प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले सहमति भएको १८ दिनपछि शिक्षा तथा खेलकुद मन्त्रालयले गठन गरेको समितिको कार्यक्षेत्र सहमतिमा उल्लेख गरिएका विषयभन्दा फरक रहेको बताएका छन्। समितिमा आफूहरूले सिफारिस गरेका चिकित्सा शिक्षाका विज्ञलाई समेत समावेश नगरिएको उनको आरोप छ।
समिति गठन गर्न झन्डै तीन साता लगाएको सरकारले छानबिनका लागि एक सातामात्र कार्यावधि तोक्नुले सरकारको गैरजिम्मेवारी देखिएको उनले उल्लेख गरेका छन्।
सरकारसँग भएको सहमतिको पहिलो बुँदामा चिकित्सा शिक्षा आयोगको निर्णयअनुसार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन अनुमति तथा सिट निर्धारण गर्दा र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सिट वृद्धि गर्दा निर्धारित मापदण्ड पालना भए–नभएको छानबिन गर्ने उल्लेख छ।
त्यस्तै, मापदण्ड उल्लङ्घन वा स्वार्थको द्वन्द्व भएको पाइएमा संलग्न पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउने र छानबिन प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्ने सहमति भएको थियो।

तर, मन्त्रालयले गठन गरेको समितिलाई ती संस्थाको स्थलगत अनुगमन गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्षम भए–नभएको मूल्याङ्कन गर्ने कार्यक्षेत्र मात्र दिइएको डा. केसीको भनाइ छ। यसले निर्णय प्रक्रिया, मापदण्डको पालना, स्वार्थको द्वन्द्व र जिम्मेवार पदाधिकारीको जवाफदेहितासम्बन्धी विषयलाई समेट्न नसकेको उनले बताएका छन्।
संस्थाको सञ्चालन क्षमता परीक्षण गर्नु र निर्णय प्रक्रिया तथा मापदण्ड उल्लङ्घनबारे छानबिन गर्नु फरक विषय भएको उल्लेख गर्दै उनले स्थलगत अनुगमन छानबिनको एउटा माध्यम हुन सक्ने तर सहमतिको मूल उद्देश्यको विकल्प बन्न नसक्ने स्पष्ट पारेका छन्।
आफूहरूको माग कुनै व्यक्ति वा संस्थालाई पूर्वाग्रहपूर्ण ढङ्गले दोषी ठहर गर्नु नभई निर्णय प्रक्रियाको निष्पक्ष छानबिन, मापदण्डको पूर्ण पालना, स्वार्थको द्वन्द्वको पहिचान र जिम्मेवार पदाधिकारीको जवाफदेहिता सुनिश्चित गर्नु रहेको उनको भनाइ छ।
डा. केसीले सहमतिको पहिलो बुँदाअनुसार समितिको गठन र कार्यक्षेत्र तत्काल सच्याउन तथा छानबिनबाट प्राप्त सिफारिस इमानदारीपूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
यसैगरी, सहमतिको चौथो बुँदाअनुसार गठित सहमति कार्यान्वयन अनुगमन कार्यदलको सोमबार बसेको बैठकमा कार्यदलका सदस्य डा. बद्री रिजाल, विजय बाबु शिवाकोटी र डा. अमृत जैसीलाई सहभागी नगराइएकोप्रति पनि उनले आपत्ति जनाएका छन्। यसले सरकारी पक्षको बदनियत देखाएको उनको आरोप छ।
सरकारसँग भएका सहमतिका अन्य बुँदा पनि तत्काल कार्यान्वयन गर्न माग गर्दै डा. केसीले सहमति औपचारिकतामा मात्र सीमित गर्न खोजिए सत्याग्रहलगायत आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने चेतावनी दिएका छन्। त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने उनले बताएका छन्।








