हुम्ला । हुम्लामा १८ वर्षमुनिका किशोरीले गर्भपतन गराउने क्रम बढ्दै गएको छ। जिल्ला अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा गर्भपतन गराउने महिलामध्ये ५५ प्रतिशतभन्दा बढी १८ वर्षमुनिका किशोरी रहेका छन्।
स्वास्थ्य सेवा कार्यालयअन्तर्गत जिल्ला अस्पतालमा गत आर्थिक वर्षमा कुल १४३ जनाले गर्भपतन गराएकोमा ८० जना १८ वर्षमुनिका किशोरी रहेको अस्पतालका चिकित्सक भीमबहादुर बुढाले जानकारी दिए। यो कुल गर्भपतन गराउनेको ५५ दशमलव ९४ प्रतिशत हो।
गर्भपतन गराउने १८ वर्षमुनिका किशोरीमध्ये ८० प्रतिशत विवाहित रहेको चिकित्सक बुढाले बताए। जिल्लाका गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा गर्भपतन गराउनेको विवरण भने यस तथ्यांकमा समेटिएको छैन। ती विवरणसमेत जोड्दा किशोरावस्थामै गर्भपतन गराउनेको संख्या अझै बढ्न सक्ने उनको भनाइ छ।
अघिल्लो वर्ष १८ वर्षमुनिका ५५ जना किशोरीले जिल्ला अस्पतालमा गर्भपतन गराएका थिए। पछिल्लो तथ्यांकमा यो संख्या बढेर ८० पुगेको छ।

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीका अनुसार कम उमेरमै विवाह गर्ने चलनका कारण किशोरी अवस्थामा गर्भ रहने र पछि शिशु जन्माउन नचाहँदा गर्भपतन गराउने क्रम बढेको हो। २० वर्ष उमेर नपुगी विवाह गर्न नहुने कानुनी व्यवस्थाबारे पर्याप्त जनचेतना फैलाउन नसक्दा पनि समस्या बढिरहेको उनले बताए।
उनका अनुसार सामाजिक सञ्जालमार्फत कम उमेरमै चिनजान हुने, शारीरिक सम्बन्ध कायम भएपछि गर्भ रहने र त्यसपछि गर्भपतन गराउने प्रवृत्ति पनि बढ्दै गएको छ। अस्थायी गर्भनिरोधक साधनको प्रयोगबारे पर्याप्त जानकारी नहुँदा अनिच्छित गर्भधारणपछि गर्भपतनको विकल्प रोज्ने गरेको उनको भनाइ छ।
कम उमेरमा विवाह, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अपर्याप्त जानकारी र गर्भनिरोधक साधनको प्रयोगबारे चेतनाको कमीले हुम्लामा किशोरी गर्भधारण तथा गर्भपतनको समस्या चुनौतीका रूपमा देखिएको छ।








