भद्रपुर । अस्पतालबाट निस्कने फोहोरमैला व्यवस्थापन स्वास्थ्य संस्थाका लागि चुनौती बनिरहेका बेला झापाको प्रादेशिक अस्पताल भद्रपुरले भने फोहोरलाई नै आम्दानीको स्रोत बनाएको छ। अस्पतालले पुनःप्रयोग गर्न मिल्ने फोहोर छुट्याएर बिक्री गर्दै वार्षिक करिब एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ।
अस्पतालले विगत पाँच वर्षदेखि फोहोर व्यवस्थापनमार्फत नियमित आम्दानी गर्दै आएको हो। अस्पतालको फोहोरमैला व्यवस्थापन तथा बहिरङ्ग विभाग संयोजक निरु कुँवरका अनुसार पुनःप्रयोग गर्न मिल्ने कागज, प्लास्टिक र आल्मुनियमजन्य फोहोर छुट्याएर बिक्री गर्ने गरिएको छ। यसबाट अस्पतालले मासिक १२ देखि १५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको उनले बताइन्।
उनका अनुसार अस्पतालबाट मासिक करिब पाँच क्विन्टल कागजजन्य, एक क्विन्टल प्लास्टिकजन्य र दुई केजी आल्मुनियमजन्य फोहोर बिक्री हुने गरेको छ।

अस्पतालमा प्रयोग भइसकेका स्लाइनका खाली बोतल, पाइप, सिरिन्जलगायतका सामग्रीसमेत छुट्याउने गरिएको छ। कुहिने र नकुहिने फोहोरलाई स्रोतबाटै वर्गीकरण गरी पुनःप्रयोग गर्न मिल्ने सामग्री बिक्रीका लागि राख्ने गरिएको अस्पतालले जनाएको छ।
जर्मन सहयोगी संस्था जीआईजेडले फोहोर प्रशोधन गरी पुनःप्रयोगयोग्य बनाउन आवश्यक मेसिन तथा सामग्री सहयोग गरेपछि अस्पतालमा व्यवस्थित फोहोर व्यवस्थापनको अभ्यास सुरु भएको हो।

अस्पतालबाट निस्कने जोखिमयुक्त फोहोरलाई भने छुट्टै प्रशोधन गरेर सुरक्षित विसर्जन गर्ने गरिएको छ। सङ्क्रमणको जोखिम भएका फोहोरलाई आधुनिक मेसिनमार्फत प्रशोधन गरी ब्याक्टेरिया नष्ट गरेपछि सुरक्षित रूपमा विसर्जन गरिन्छ।
त्यस्तै, प्रयोग भइसकेका सुईजन्य सामग्रीलाई सुरक्षित बनाउने प्रक्रियापछि चौतारा निर्माणमा समेत प्रयोग गरिएको छ। कुँवरका अनुसार अस्पताल परिसरमा यस्ता दुईवटा चौतारा निर्माण भइसकेका छन्।
फोहोर व्यवस्थापनका लागि अस्पतालमा दुई जना जनशक्ति परिचालन गरिएको छ। हाल प्रादेशिक अस्पताल भद्रपुरमा दैनिक औसत एक हजार जनाले बहिरङ्ग सेवा लिँदै आएका छन्। बिरामीको चापसँगै दैनिक ठूलो परिमाणमा फोहोर उत्पादन हुने भए पनि वर्गीकरण, प्रशोधन र पुनःप्रयोगको अभ्यासले व्यवस्थापन सहज बनाएको अस्पतालको भनाइ छ।
पहिले अस्पताल परिसरमा फोहोर थुप्रिने समस्या रहे पनि अहिले स्रोतबाटै फोहोर छुट्याएर व्यवस्थापन गर्न थालेपछि परिसर सफा राख्न सहज भएको कुँवरले बताइन्।
प्रादेशिक अस्पताल भद्रपुरको यो अभ्यासले स्वास्थ्य संस्थाबाट निस्कने फोहोरलाई उचित रूपमा वर्गीकरण र व्यवस्थापन गर्न सके वातावरणीय स्वच्छता कायम राख्नुका साथै त्यसलाई आम्दानीको स्रोतसमेत बनाउन सकिने उदाहरण प्रस्तुत गरेको छ।







