काठमाडौं । नेपाली पप गायक अनिल सिंहले अत्यधिक धूम्रपानका कारण आफ्नो खुट्टामा गम्भीर समस्या देखिएको र चिकित्सकले खुट्टा नै काट्नुपर्ने अवस्था आउन सक्ने बताएको खुलासा गरेका छन्।
अस्ट्रेलिया भ्रमणमा रहेका सिंहले टिकटकमा भिडियो सार्वजनिक गर्दै आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन्। उनले अस्ट्रेलिया जानुअघि नेपालमै उपचार गराइरहेको र खुट्टामा समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार शरीरको पूर्ण परीक्षण गराएको बताए।

परीक्षणका क्रममा आफूले अत्यधिक धूम्रपान गर्ने गरेको र त्यसको असर खुट्टामा देखिएको थाहा पाएको उनको भनाइ छ। चिकित्सकले धूम्रपान तत्काल बन्द गर्न सुझाव दिँदै खुट्टा काट्नुपर्ने अवस्था आउन सक्ने बताएपछि आफू निकै डराएको उनले सुनाएका छन्।
‘डाक्टरले तपाईंको खुट्टा काट्नुपर्छ होला भन्नुभयो। त्यसपछि म नेपालबाट भागेर आएँ,’ उनले भिडियोमा भनेका छन्।

नेपालमै बसेर धूम्रपान छाड्न सहज नभइरहेका बेला अस्ट्रेलिया भ्रमणको अवसर आएको र स्वास्थ्य परीक्षण गरेको भोलिपल्टै भिसा लागेपछि आफू अस्ट्रेलिया आएको उनले बताएका छन्। अहिले सिड्नी र तास्मानियामा आयोजित नेपाल फेस्टिभलका कार्यक्रम सम्पन्न गरिसकेको पनि उनले जानकारी दिएका छन्।
आफूले स्वास्थ्यप्रति लापरबाही गरेको स्वीकार गर्दै सिंहले अहिले पनि चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरिरहेको बताएका छन्। उनले आफ्नो अनुभव सुनाउँदै धूम्रपान गर्नेहरूलाई आजैदेखि चुरोट त्याग्न आग्रह गरेका छन्।
सन् २००० को दशकको सुरुवातमा नेपाली पप संगीतले नयाँ मोड लिँदै गर्दा सिंहले ‘डुब्न देऊ’, ‘आई लभ यु’, ‘इञ्जिन गाडीमा’, ‘प्रेम पत्र’ लगायतका गीतमार्फत युवापुस्तालाई झुमाएका थिए ।







