भक्तपुर । बीएन्डबी अस्पतालले मंसिर १२ गते भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। भक्तपुर–१०, क्वाथन्डौस्थित माउन्ट भ्याली इङ्लिस स्कुलमा सञ्चालन हुने शिविरमा सात विधाका विशेषज्ञ चिकित्सकले परामर्श दिनेछन्।
अस्पतालका अनुसार शिविरमा स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नशा रोग, सामान्य चिकित्सा, मूत्र रोग, बालरोग, छाला तथा यौनरोग र जनरल सर्जरीसम्बन्धी परामर्श उपलब्ध हुनेछ।
शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सलुजा बाँस्कोटा, हाडजोर्नी विशेषज्ञ डा. विवेक बाँस्कोटा, सामान्य चिकित्सा विशेषज्ञ डा. ओमप्रकाश अधिकारी र मूत्र रोग विशेषज्ञ डा. अतुल कसजू सहभागी हुनेछन्। त्यस्तै, बालरोग विशेषज्ञ डा. अन्वेष भट्ट, छाला तथा यौनरोग विशेषज्ञ डा. पारस श्रेष्ठ र जनरल सर्जन डा. सौजन्य जंग पाण्डेले पनि परामर्श दिनेछन्।
शिविरमा विशेषज्ञ परामर्शसँगै अल्ट्रासाउन्ड, प्याप स्मियर, रगतमा चिनीको जाँच, ईसीजी र फिजियोथेरापी सेवा निःशुल्क उपलब्ध हुने अस्पतालले जनाएको छ। शिविरमा आएका बिरामीलाई आवश्यक एक्सरे बी एन्ड बी अस्पतालमा सात दिनसम्म निःशुल्क गरिने सूचनामा उल्लेख छ।

सोही अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना हुने अस्पतालले जानकारी दिएको छ।
शिविरमा सहभागी बिरामीका लागि अस्पतालमा विभिन्न जाँचमा २० प्रतिशत, औषधिमा १५ प्रतिशत तथा अल्ट्रासाउन्ड र एक्सरेमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। उक्त छुट तीन महिनासम्म लागू हुने जनाइएको छ।
शिविर बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ भने नाम दर्ता बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछ। थप जानकारी तथा अग्रिम बुकिङका लागि ९८०१९१०९१३ वा ९८०१९७५३७५ मा सम्पर्क गर्न अस्पतालले आग्रह गरेको छ।








