पोखरा । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले विभिन्न प्राविधिक पदमा १६ जना कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ। अस्पतालले मंगलबार सार्वजनिक सूचना जारी गर्दै स्टाफ नर्स, अ.न.मी., रेडियोग्राफी टेक्निसियन र ल्याब असिस्टेन्ट पदमा दरखास्त आह्वान गरेको हो।

अस्पतालले स्टाफ नर्स १० जना, अ.न.मी. चार जना, रेडियोग्राफी टेक्निसियन एक जना र ल्याब असिस्टेन्ट एक जना गरी कुल १६ जना कर्मचारी माग गरेको छ।

सूचनाअनुसार आवश्यक न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी मंसिर १५ गतेसम्म कार्यालय समयभित्र अस्पताल प्रशासनमा आवेदन पेस गर्न सक्नेछन्।
आवेदनसँगै उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताका लब्धाङ्कपत्र, सम्बन्धित व्यावसायिक परिषद्मा दर्ता भई अद्यावधिक भएको प्रमाणपत्र, कार्यअनुभव तथा तालिमका प्रमाणपत्रको प्रतिलिपि र व्यक्तिगत विवरण (बायोडाटा) बुझाउनुपर्नेछ।
अस्पतालले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार आवेदकको लिखित परीक्षा मंसिर २२ गते सञ्चालन हुनेछ। त्यसपछि प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता मंसिर २९ गते हुने अस्पतालले जनाएको छ।








