ललितपुर । ललितपुरको जावलाखेलमा वरिष्ठ चिकित्सक डा. नूतन शर्माले आफ्नै ‘नाभ्या स्पेशलिटी सेन्टर’ सञ्चालनमा ल्याएकी छन्। लामो समयदेखि निःसन्तान उपचार तथा आईभीएफ सेवामा सक्रिय डा. शर्माले निःसन्तान दम्पतीलाई स्वदेशमै गुणस्तरीय उपचार उपलब्ध गराउने र उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यसहित सेन्टर स्थापना गरेकी हुन्।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, आईभीएफ तथा प्रजनन स्वास्थ्य परामर्शदाता र ल्याप्रोस्कोपिक सर्जनका रूपमा अनुभव हासिल गरेकी डा. शर्माले जावलाखेलस्थित स्टिल टावरमा सेन्टर सञ्चालनमा ल्याएकी हुन्। उनले यसअघि अल्का अस्पताल, नर्भिक र बी एन्ड बी अस्पतालमा लामो समय सेवा दिएकी थिइन्। अब आफ्नै सेन्टरमार्फत निःसन्तान उपचारसहित प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्ने उनको योजना छ।

डा. शर्माका अनुसार नेपालमै आईभीएफ उपचारका लागि आवश्यक दक्ष जनशक्ति र सम्भावना भए पनि अझै ४० देखि ५० प्रतिशत दम्पती उपचारका लागि भारत जाने गरेका छन्। नेपालमै गुणस्तरीय सेवा विस्तार गरेर विदेश जाने बाध्यता अन्त्य गर्नु आफ्नो मुख्य उद्देश्य रहेको उनले बताइन्।

‘एकै छानामुनि सबै सेवा उपलब्ध गराउने उद्देश्यले सेन्टर सञ्चालनमा ल्याएका हौँ,’ डा. शर्माले भनिन्, ‘बिरामीको आवश्यकता र अवस्थाअनुसार उपचार विधि तय गर्ने तथा अत्याधुनिक प्रयोगशालासहितको सेवा दिने हाम्रो योजना छ।’ यसअघि आईभीएफ उपचारमा सबै बिरामीलाई एउटै निश्चित उपचार पद्धति अपनाउने गरिएको भए पनि सेन्टरमा भने बिरामीको अवस्थाअनुसार उपचार विधि छनोट गरिने उनले बताइन्।
आईभीएफ उपचार महँगो हुने भएकाले आर्थिक अवस्था कमजोर भएका दम्पतीले पनि सेवा पाउनुपर्नेमा उनले जोड दिइन्। उपचारको गुणस्तर कायम राख्दै आर्थिक रूपमा कमजोर दम्पतीलाई समेत उपचारको अवसर उपलब्ध गराउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।








