काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले वार्ताका लागि पठाएको टोलीसँग वार्ता गर्न अस्वीकार गरेका छन् ।
बुधबार साँझ वार्ताका लागि शिक्षण अस्पताल पुगेको सरकारी टोलीलाई डा. केसीले आफ्नो अडान सुनाउँदै फिर्ता पठाएका हुन् ।

डा. केसीले शिक्षा मन्त्री वा प्रधानमन्त्रीको नेतृत्वमा गठन भएको टोलीसँग मात्रै वार्ता गर्ने स्पष्ट पारेका छन् । यसअघि २०८३ साउन ११ गते भएको सहमतिमा दुई जना सचिवले हस्ताक्षर गरे पनि त्यसलाई राजनीतिक नेतृत्वले अपनत्व लिएर कार्यान्वयन प्रक्रिया अघि नबढाएको उनको आरोप छ ।

उनले विगतमा भएका सहमति तथा अब हुने सहमित कार्यान्वयन गर्ने अख्तियारी प्राप्त राजनीतिक नेतृत्वको संयोजकत्वमा गठन भएको टोलीसँग मात्रै वार्ता गर्ने बताएका छन् ।
त्यस्तै, वार्तामा बस्नुअघि अघिल्लो सत्याग्रहका क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन हुनुपर्ने उनको पूर्वसर्त छ ।
सरकारले पठाएको वार्ता टोलीलाई यही सन्देश दिँदै डा. केसीले आफ्नो अडानबाट पछि नहट्ने स्पष्ट पारेका छन् । अघिल्लो सहमति कार्यान्वयन नभएसम्म नयाँ वार्ता अघि बढाउन नसकिने उनको भनाइ छ ।







