काठमाडौँ । सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ । सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित सरकारले उपचारभन्दा रोकथाम, जनचेतना र नियमित स्वास्थ्य परीक्षणलाई प्राथमिकतामा राखेको हो ।
यसैक्रममा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारको अध्यक्षतामा नसर्ने रोगको वर्तमान अवस्थाबारे छलफल भएको छ ।

बैठकले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामका लागि आवश्यक पहल गर्ने निष्कर्ष निकालेको छ । साथै, बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि सबै मन्त्रालयसँग अन्तरक्रिया गर्ने र नियमित समीक्षा बैठक सञ्चालन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
बैठकमा स्वस्थ जीवनशैलीसम्बन्धी जनचेतना फैलाउने, नसर्ने रोग नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गर्ने तथा विद्यालय तहदेखि नै सार्वजनिक स्वास्थ्य शिक्षा लागू गर्ने विषयमा छलफल भएको थियो । त्यस्तै, विशेषज्ञ चिकित्सकलाई देशमै टिकाइराख्ने विषयलाई पनि प्राथमिकताका साथ उठाइएको थियो ।

सुर्तीजन्य पदार्थ, इनर्जी ड्रिंक, जंक फुड, विषादीयुक्त खानेकुरा र अस्वस्थ जीवनशैलीलाई नसर्ने रोगका प्रमुख कारकका रूपमा औँल्याउँदै बैठकले तिनको नियन्त्रण तथा नियमनका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा क्यान्सरलगायत नसर्ने रोग नियन्त्रणका लागि उपचारमा मात्रै निर्भर नभई रोकथाम, जनचेतना, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गर्ने नीति लिएको छ ।
सन् २०३० सम्ममा नसर्ने रोगबाट हुने अकाल मृत्यु एक तिहाइले घटाउने दिगो विकास लक्ष्यप्रति नेपाल प्रतिबद्ध रहेको पनि सरकारले जनाएको छ ।







