मोरङ । पर्यटक भिसामा नेपाल आएर आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा रहेका १० जना विदेशी नागरिकको राहदानी जफत गरी थप कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ।

‘मर्सी डेभलपमेन्ट’ नामक संस्थासँग सम्बन्धित स्वास्थ्य शिविरमा विदेशी चिकित्सकसहितका नागरिक संलग्न रहेको पाइएपछि विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयअनुसार उनीहरूको राहदानी अध्यागमन विभाग पठाइएको जनाइएको छ।
गत कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको शिविरमा ब्राजिल, क्यानडा र अमेरिकाका १० जना नागरिक सहभागी थिए। शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेको विवरणमा उल्लेख छ।

स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यसअघि धार्मिक कक्षा सञ्चालन हुँदै आएको थियो। कानेपोखरी–७, बरगाछीका किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माण गर्ने भन्दै तीन कट्ठा जग्गामा छवटा साना–ठूला भवन बनाएको जनाइएको छ। ती भवन अहिले धार्मिक गतिविधि तथा अन्य कार्यक्रमका लागि प्रयोग भइरहेको विवरणमा उल्लेख छ।
उक्त स्थानमा धार्मिक गतिविधि सञ्चालन भएको विषयमा विवाद उत्पन्न भएपछि स्थानीयलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको जनाइएको छ। हाल सो स्थानमा दुई जना पास्टर र केही सिलाइकटाइ प्रशिक्षक बस्दै आएको विवरणमा उल्लेख छ।
शिविरमा सहभागी विदेशी नागरिकमध्ये तीन जना ब्राजिल, दुई जना क्यानडा र पाँच जना अमेरिकाका रहेको जनाइएको छ। उनीहरू सन् २०२६ अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेका थिए। उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको विवरणमा उल्लेख छ।
पर्यटक भिसामा आएका विदेशी नागरिकले स्वास्थ्य शिविर सञ्चालन गर्न आवश्यक अनुमति लिएका थिए वा थिएनन् भन्ने विषयमा सम्बन्धित निकायको आधिकारिक प्रतिक्रिया प्राप्त भइसकेको छैन।







