काठमाडौं । रोटरी क्लब अफ काष्ठमण्डपको समन्वयमा नेप्लीज डक्टर्स एसोसिएसन यूके (एनडीए यूके)ले नेपालका चार स्वास्थ्य संस्थालाई शल्यक्रियाको व्यावहारिक सीप विकासमा सहयोग पुग्ने उपकरण हस्तान्तरण गरेको छ।
उपकरण प्राप्त गर्ने संस्थामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र लुम्बिनी मेडिकल कलेज टिचिङ हस्पिटल पाल्पा रहेका छन्। मंगलबार वीर अस्पतालमा आयोजित कार्यक्रममा ती संस्थाका प्रतिनिधिलाई उपकरण हस्तान्तरण गरिएको हो।
हस्तान्तरण कार्यक्रममा न्याम्सका उपकुलपति प्राडा विवेक आचार्य, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा सूर्यमान मेयाङ्वोसहित सम्बन्धित स्वास्थ्य संस्थाका प्रतिनिधिहरू सहभागी थिए। उपकरण हस्तान्तरणका लागि बेलायतबाट आएका एनडीए यूकेका उपाध्यक्ष डा. आशिषकिरण श्रेष्ठ, महासचिव डा. पारुल श्रेष्ठ, पूर्वअध्यक्ष प्राडा फौदराज थेवे र डा. प्रदीप बस्न्यातलगायतको पनि सहभागिता थियो।

रोटरी क्लब अफ काष्ठमण्डपका अध्यक्ष शैलेश वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर विष्णुबहादुर कार्कीलगायतको उपस्थिति थियो।
आधुनिक शल्यक्रिया प्रविधिमा चिकित्सकको व्यावहारिक सीप अभिवृद्धि गर्ने, चिकित्सा शिक्षालाई प्रभावकारी बनाउने र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुर्याउने उद्देश्यले उपकरण उपलब्ध गराइएको आयोजकले जनाएको छ।
विशेषगरी ल्याप्रोस्कोपिक शल्यक्रियामा आवश्यक सीप विकास गर्न उपलब्ध गराइएका उपकरणले चिकित्सकलाई वास्तविक शल्यक्रियामा सहभागी हुनुअघि नियन्त्रित वातावरणमा अभ्यास गर्ने अवसर प्रदान गर्नेछन्। यसबाट हातको सीप, उपकरण सञ्चालन क्षमता र प्राविधिक दक्षता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

न्याम्सका उपकुलपति प्राडा आचार्यले इन्डोट्रेनरजस्ता उपकरणले चिकित्सकलाई व्यावहारिक अभ्यासको अवसर प्रदान गर्ने बताए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा मेयाङ्वोले प्राप्त उपकरणको प्रभावकारी उपयोग गरी शल्यक्रिया तालिमलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरे। दुर्गम क्षेत्रमा सेवा दिने चिकित्सकलाई समेत गुणस्तरीय तालिम आवश्यक रहेको उल्लेख गर्दै उनले कर्णालीका लागि उपकरण सहयोग गरिएकोमा खुसी व्यक्त गरे।
एनडीए यूकेका पूर्वअध्यक्ष डा. थेवेले चिकित्सकको सीप अभिवृद्धिमार्फत बिरामीले सुरक्षित, प्रभावकारी र गुणस्तरीय उपचार सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। महासचिव डा. पारुल श्रेष्ठले बेलायतमा रहेका नेपाली चिकित्सकहरूले नेपालको स्वास्थ्य सेवा सुधारमा निरन्तर सहयोग गर्दै आएको र उपकरण हस्तान्तरण त्यसैको उदाहरण भएको बताइन्।
कार्यक्रममा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर विष्णुबहादुर कार्कीले एनडीए यूके र रोटरी क्लब अफ काष्ठमण्डपबीचको सहकार्यको प्रशंसा गरे। उनले सरकारी सेवा पर्याप्त रूपमा पुग्न नसकेका क्षेत्रमा समेत रोटरीका सामाजिक गतिविधिले सहयोग पुर्याउँदै आएको बताए।
रोटरी क्लब अफ काष्ठमण्डपका अध्यक्ष वैद्यले विदेशमा रहेर पनि नेपाली चिकित्सकहरूले मातृभूमिको स्वास्थ्य सेवा सुधारमा योगदान पुर्याउनु प्रशंसनीय भएको बताए। उनका अनुसार एनडीए यूकेको सहयोग उपकरण हस्तान्तरणमा मात्र सीमित नभई स्वास्थ्य शिविर, तालिम, चिकित्सक तथा स्वास्थ्यकर्मीको क्षमता विकास र सामाजिक कल्याणका कार्यक्रमसम्म विस्तार भएको छ।
रोटरी क्लब अफ काष्ठमण्डप र एनडीए यूकेबीच एक दशकभन्दा लामो समयदेखि सहकार्य हुँदै आएको आयोजकले जनाएको छ।








